Bahumat Khabar

प्राचीन चिकित्सा प्रणाली आयुर्वेदप्रति विश्वभरि बढ्दो आकर्षण

काठमाडौं,  हजारौं वर्ष पुरानो आयुर्वेद चिकित्सा प्रणाली आजको आधुनिक युगमा पुनः चर्चाको शिखरमा पुगेको छ । भारतवर्षबाट सुरुआत भएको यस पद्धति अहिले नेपाल, भारत, श्रीलङ्का लगायतका दक्षिण एशियाली मुलुकहरूमा मात्र होइन, विश्वका थुप्रै देशहरूमा वैकल्पिक उपचारको रूपमा अपनाइँदै आएको छ ।

धार्मिक र ऐतिहासिक मान्यताअनुसार आयुर्वेदको प्रारम्भ ब्रह्माबाट भएको उल्लेख पाइन्छ । ब्रह्माबाट दक्ष प्रजापति, अश्विनी कुमार हुँदै इन्द्र र अन्ततः धनवन्तरिसम्म आयुर्वेदको ज्ञान प्रवाह भएको जनविश्वास छ । धनवन्तरीलाई आयुर्वेदका देवता मानिन्छ, र प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन ‘धनवन्तरी जयन्ती’ मनाइन्छ ।

नेपालमा वि.सं. १९७४ मा नरदेवीस्थित आयुर्वेद चिकित्सा क्याम्पसको स्थापना पछि औपचारिक रूपमा आयुर्वेद शिक्षा सुरु भएको हो । त्यसपछि वि.सं. २०५६ देखि यो दिनलाई ‘राष्ट्रिय आरोग्य दिवसका रूपमा समेत मनाउन थालिएको छ ।

आयुर्वेदले स्वास्थ्यको आधार शरीर, मन र आत्माको सन्तुलनलाई मान्दछ । त्रिदोष – वात, पित्त र कफको सन्तुलन तथा सप्त धातु -रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र – को समुचित सञ्चालन मानव स्वास्थ्यको मूल मानिन्छ ।

यस पद्धतिमा शल्यचिकित्सा देखि लिएर शिशु रोग, मानसिक स्वास्थ्य, विष उपचार, यौन स्वास्थ्य र दीर्घायुका लागि उपायहरू सम्म समावेश गरिएको हुन्छ । आयुर्वेदमा कुल आठ प्रमुख विभाग छन्, जसले मानव जीवनका सबै पक्षलाई समेट्छन् ।

विश्व स्वास्थ्य संगठन (WHO) ले आयुर्वेदलाई वैकल्पिक चिकित्सा प्रणालीको रूपमा मान्यता दिँदै आएको छ । हाल विश्वभर योग, पञ्चकर्म, तथा जडीबुटीजन्य उपचारप्रति बढ्दो रुचिका कारण आयुर्वेदको प्रचारप्रसार तीव्र गतिमा भइरहेको छ ।

विशेषज्ञहरूका अनुसार नेपालको जैविक विविधता र हिमाली जडीबुटीको प्रयोगलाई वैज्ञानिक पद्धतिमा ल्याउन सकिएमा आयुर्वेद देशको स्वास्थ्यक्षेत्र मात्र होइन, आर्थिक क्षेत्रका लागि पनि अवसर बन्न सक्छ ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.