काठमाडौं । अर्थ मन्त्रालयले आगामी निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । मन्त्रालयको तथ्यांकअनुसार यसमध्ये हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ ।
मन्त्रालयका अनुसार २१ फागुनमा तोकिएको निर्वाचनका लागि निर्वाचन आयोगलाई मात्र १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँ स्रोत सहमति दिइएको थियो । त्यसैगरी, २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँको स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसरी निर्वाचन आयोगलाई कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ । आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो भने अहिलेसम्म ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायहरूलाई पनि उल्लेख्य बजेट व्यवस्था गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिइएको थियो । त्यस्तै, नेपाली सेनालाई २८ मंसिरमा उपकरण खरिदका लागि ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको थियो ।
अर्थ मन्त्रालयका अनुसार गृह मन्त्रालय तथा मातहतका निकायहरूलाई १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ । साथै, २० पुसमा नेपाली सेनालाई थप १ अर्ब ९४ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरिएको जनाइएको छ ।
सरकारले निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न पर्याप्त बजेट व्यवस्थापन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।





