काठमाडौं / हालै सम्पन्न नेकपा (बहुमत) स्थायी समितिको बैठकले देशभर फैलिएको जेनजी आन्दोलनलाई जनअसन्तोषको ऐतिहासिक विस्फोटको रूपमा मूल्याङ्कन गरेको छ । भदौ ३१ देखि असोज ४ गतेसम्म काठमाडौंमा बसेको बैठकले भदौ २३–२४ मा चर्किएको आन्दोलनलाई क्रान्तिकारी नेतृत्वको अभावका कारण ‘अपहरणमा परेको जनविद्रोह’ भनेर व्याख्या गरेको हो ।
पार्टीले आन्दोलनको पृष्ठभूमिमा बढ्दो भ्रष्टाचार, राष्ट्रघात, एकाधिकार प्रवृत्ति, बेरोजगारी र सामाजिक असमानता रहेका कारण जनमानसमा असन्तोष गहिरिँदै गएको निष्कर्ष निकालेको छ । सरकारप्रति अविश्वास, सत्तारूढ दलभित्रको अन्तरविरोध र जीवनयापनको कठिनाइले देश ‘ज्वालामुखी’ को स्थितिमा पुगेको पार्टीको ठहर छ ।
नेकपा (बहुमत) का अनुसार, आन्दोलनको सुरुआत “भ्रष्टाचार अन्त्य र कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन” जस्ता लोकतान्त्रिक मागबाट भए पनि, राज्यद्वारा गरिएको दमन र जनहत्यापछि आन्दोलनले विद्रोहको रूप लिएको हो । त्यसपश्चात सत्ताको नियन्त्रण सेनाको प्रभावमा गएको भन्दै, अन्तरिम सरकार गठनमा विदेशी सल्लाह र हस्तक्षेप देखिएको आरोप लगाइएको छ ।
पार्टीले अमेरिका र भारत दुवैको सक्रियता रहेको दाबी गर्दै, सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णयमा भारतीय प्रभाव स्पष्ट भएको दाबी गरेको छ ।
साथै बैठकले जनविद्रोह सफल हुनका लागि “सही विचार, सही नेतृत्व र जनसेना” आवश्यक हुने ठहर गर्दै ती तत्वको अभावले जेनजी आन्दोलन बुर्जुवाहरूको हातमा पुगेको निष्कर्ष निकालेको छ ।
पार्टीले आफ्नै भूमिकामा पनि आत्मसमिक्षा गर्दै, वैज्ञानिक समाजवादी क्रान्तिको नीति यथार्थपरक भए पनि संगठनात्मक तयारी कमजोर भएको स्वीकार गरेको छ । जनसंगठन विस्तार र जनसहभागिता अभावका कारण आन्दोलनमा प्रभावकारी भूमिका नखेलिएको जनाइएको छ ।
स्थायी समितिका पाँच निष्कर्ष:
- नेपालको राजनीतिक अवस्था विस्फोटक मोडमा छ ।
- पार्टीको पूर्व मूल्याङ्कन यथार्थसंग मेल खाएको छ ।
- नेपाली युवामा विद्रोहको अपार सम्भावना छ ।
- नेतृत्वविहीन आन्दोलन दीर्घकालीन उपलब्धिविहीन हुन्छ ।
- जनताको आफ्नै सैन्य संरचना नहुँदा उपलब्धिहरू अपहरणमा पर्न सक्छन् ।
‘पार्टीकाे लाल जेन–अल्फा’ अभियान र नयाँ रणनीति : जनविद्राेहमार्फत् वैज्ञानिक समाजवादी व्यवस्था स्थापना
अबको चरणमा पार्टीले “लाल जेन–अल्फा” नामक क्रान्तिकारी युवा संरचना निर्माण गर्दै, ग्रामीण र शहरी क्षेत्रमा ‘सोभियत शैलीका जनसत्ता’ स्थापना गर्ने संकेत दिएको छ । वर्तमान अन्तरिम सरकारलाई यथास्थितिवादी र पश्चगामी ठहर गर्दै, पार्टीले संविधान पुनर्लेखन र वैज्ञानिक समाजवादी संविधान निर्माणको अभियान सुरु गर्ने बताएको छ ।
पार्टीका अनुसार, अबको लक्ष्य जनविद्रोह मार्फत् वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु हो । त्यसका लागि नयाँ विचार, नयाँ संगठन र नयाँ आन्दोलन अपरिहार्य रहेको भन्दै, त्यसतर्फ पार्टी केन्द्रित हुने स्पष्ट संकेत बैठकले दिएको छ ।





