Bahumat Khabar

नेकपा (बहुमत) को कडा चेतावनी : जनसंविधान र स्वाधीन संयुक्त सरकारबिना चुनाव स्वीकार्य छैन

काठमाडौं । देशलाई दलाल पूँजीवाद, साम्राज्यवाद र प्रतिक्रियावादी संसदीय सत्ताको दलदलमा डुबाइराख्ने षड्यन्त्रस्वरूप घोषणा गरिएको फागुन २१ गतेको संसदीय चुनाव खारेज गर्न नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले देशव्यापी संघर्षको आह्वान गरेको छ । पार्टीले यथास्थितिको चुनाव जनताको बलिदानमाथिको ठाडो अपमान र राजनीतिक धोखाधडीको निरन्तरता भएको ठहर गर्दै जनसंविधान र स्वाधीन संयुक्त सरकारबिना कुनै पनि चुनाव स्वीकार्य नहुने स्पष्ट गरेको छ ।

पार्टीद्वारा जारी अपिलमा भनिएको छ— ७६ जना युवाहरूको रगतले सिँचिएको आन्दोलनलाई केही अनुहार फेरबदल गर्ने र पुरानै संविधान तथा व्यवस्थालाई जोगाउने षड्यन्त्रमा सीमित गर्नु ऐतिहासिक अपराध हो । भ्रष्टाचार, बेरोजगारी, राष्ट्रघात, मिटरव्याज, लघुवित्त र बैंकिङ शोषणको निरन्तरताका लागि गरिएको यो चुनाव जनताको होइन, माफिया र दलालहरूको चुनाव हो ।

अपिलमा उल्लेख गरिएअनुसार भदौ २३–२४ को आन्दोलनपछि बनेको अन्तरिम सरकारले पहिलो प्राथमिकतामा संविधान परिवर्तन गरी नयाँ जनसंविधान दिनुपर्ने थियो । तर, शासक वर्गले जनताको चाहनालाई कुल्चँदै संसद विघटन र पुनः चुनावमार्फत सत्ता कब्जाको खेल खेलेको छ । यसले देशलाई झन् अस्थिर, पराधीन र संकटग्रस्त बनाएको छ ।

नेपालको संसदीय इतिहासले पटक–पटक प्रमाणित गरिसकेको छ कि संसदभित्रबाट अग्रगामी परिवर्तन सम्भव छैन । दुईतिहाई सरकार, संशोधनका नारा र सहमति सबै झुटा आश्वासन र जनतालाई अल्मल्याउने हथकण्डा मात्र सावित भएका छन् । १७ वर्षमा १४ वटा सरकार फेरिँदा जनताले पाएको उपहार भने भ्रष्टाचार, बेरोजगारी, विदेश पलायन र ऋणको भारी मात्र हो ।

पार्टीले औँल्याएको छ कि आज जनतामा नयाँ नेतृत्वको चाहना स्वाभाविक भए पनि पुरानै दलाल पूँजीवादी व्यवस्थाभित्र नयाँ अनुहार ल्याएर कुनै परिवर्तन सम्भव छैन । व्यक्ति होइन, व्यवस्था बदल्नुपर्छ । संविधान होइन, जनसंविधान चाहिन्छ । संसद होइन, जनसत्ता आवश्यक छ ।

यसै सन्दर्भमा नेकपा (बहुमत) ले फागुन २१ को आसन्न संसदीय चुनाव निर्णायक जनसंघर्षमार्फत खारेज गर्न, वर्तमान सरकार विघटन गरी स्वाधीन संयुक्त सरकार गठनको दबाब सिर्जना गर्न, तथा जनताको संविधान निर्माणका लागि देशव्यापी आन्दोलनमा उत्रन सम्पूर्ण देशभक्त, जनवादी, प्रगतिशील र क्रान्तिकारी जनतालाई आह्वान गरेको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.