काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले कथित निर्वाचनको नाममा नेपाली सेना परिचालन गरिएकोप्रति कडा आपत्ति जनाएको छ । पार्टीले यसलाई जनताको भावना र राष्ट्रिय स्वाधीनताको विपरीत कदम ठहर गर्दै तत्काल सेना फिर्ता गरी स्वच्छ र भयमुक्त वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरेको छ ।
पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ कि नेपाल आज गम्भीर राष्ट्रिय संकटको मोडमा उभिएको छ । यस्तो अवस्थामा जनताको सार्वभौम अधिकार कुण्ठित गर्ने निर्वाचन होइन, सबै राजनीतिक दलहरूको प्रतिनिधित्व हुने गोलमेच सम्मेलनमार्फत संयुक्त सरकार गठन गर्नु नै राष्ट्र जोगाउने सही बाटो भएको पार्टीको ठहर छ ।
नेकपा (माओवादी) ले शान्ति–सुरक्षाको नाममा गाउँगाउँमा पुगेर घर–गोठमा छापा मार्ने, खोजतलास गर्ने, धम्की दिने जस्ता गतिविधिले सर्वसाधारण जनतालाई आतंकित बनाएको आरोप लगाएको छ । यस प्रकारको राज्य आतंकले संकटकालको झल्को दिएको भन्दै पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
प्रेस विज्ञप्तिमा कथित विदेशी एजेन्डा बोकेर निर्वाचन थोपर्न खोजिएको आरोप लगाउँदै नेपाली सेना तथा सम्पूर्ण सुरक्षा निकायलाई विदेशी आदेश कार्यान्वयन नगर्न हार्दिक अपिल गरिएको छ । साथै, जनतामाथि दमन नगर्न सम्पूर्ण सुरक्षाकर्मी मित्रहरूलाई सचेत रहन आग्रह गरिएको छ ।
पार्टीले जनभावनाविपरीत हुने निर्वाचनमा ३०–३२ अर्ब रुपैयाँ खर्च गर्नुको सट्टा उक्त रकम कृषि क्षेत्रमा लगानी गर्नुपर्ने माग समेत अघि सारेको छ । यसले आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय स्वाधीनतालाई बल पुग्ने पार्टीको दाबी छ ।
अन्त्यमा, नेकपा (माओवादी) ले जनताको पक्षमा उभिन सम्पूर्ण राष्ट्रप्रेमी शक्ति, सुरक्षाकर्मी र राजनीतिक दलहरूलाई आह्वान गर्दै क्रान्तिकारी संघर्षलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।





