Bahumat Khabar

मधेस प्रदेशमा नयाँ सरकार गठनको तयारी, दलहरुलाई आह्वान

जनकपुर,  मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिनुअघि नै राजीनामा दिएपछि प्रदेशमा सत्ता समीकरण फेरिने संकेत देखिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) बमोजिम बुधबार अपराह्न ४ बजेसम्मका लागि नयाँ सरकार गठनका दाबी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् ।

सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिने तयारी गरेका थिए । तर पर्याप्त समर्थन सुनिश्चित नहुँदा उनले बैठकमै राजीनामा घोषणा गरेका थिए । सिंहको राजीनामा प्रदेश प्रमुख भण्डारीले स्वीकृत गरिसकेकी छन् ।

यसअघि नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले जनमत पार्टी र एमालेसँगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव अघि सारेका थिए । बुधबार दिउँसो ४ बजेसम्म अन्य कुनै दलले दाबी पेश नगरेको खण्डमा यादवकै नेतृत्वमा कांग्रेसको पहलमा नयाँ सरकार गठन हुने सम्भावना बलियो देखिएको छ ।

सत्ता परिवर्तनको संकेतसँगै मधेस प्रदेशको राजनीतिक माहोल पुनः सक्रिय बनेको छ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.