काठमाडौँ — सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गर्न बोलाएको बैठकमा चार राजनीतिक दल सहभागी नभएपछि बैठक आंशिक रूपमै सम्पन्न भएको छ ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बुधबार बसेको उक्त बैठकमा सभामुख घिमिरेले १० राजनीतिक दललाई आमन्त्रण गरेका थिए । तर, तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बैठकमा सहभागी भएनन् ।
सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार १० दललाई बोलाइएको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिहरू मात्र उपस्थित थिए ।
प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेपछि त्यसको संवैधानिक र राजनीतिक मार्गचित्रबारे राय संकलन गर्न सभामुखले दलहरूसँग छलफल गरेको जनाइएको छ ।
बैठकमा नेपाली कांग्रेसबाट विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाबाट प्रमुख सचेतक ज्ञानबहादुर शाही, जसपा नेपालबाट रेखा यादव र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे सहभागी थिए ।
सभामुख घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी कानुनी पक्षबारे थप परामर्शका लागि बिहीबार कानुन व्यवसायीहरूसँग पनि बैठक बोलाएको स्रोतले जनाएको छ ।





