काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र काभ्रे जिल्ला सेक्रेटरी विष्णु तिमिल्सिनालाई मंगलबार साँझ काठमाडौंको खिचापोखरीस्थित टेबहालबाट प्रहरीले गिरफ्तार गरेको घटनाप्रति पार्टीले कडा आपत्ति जनाएको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव अविरलद्वारा जारी प्रेस वक्तव्यमा संगठनात्मक कामका सिलसिलामा रहेका नेताहरूलाई “कायरतापूर्ण शैलीमा” गिरफ्तार गरिएको उल्लेख गर्दै यसलाई शान्तिपूर्ण राजनीतिक गतिविधिमाथिको दमनको निरन्तरता भनिएको छ ।
पार्टीका अनुसार, देशव्यापी नेपाल बन्द शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि साँझ करिब ५:४० बजे गरिएको गिरफ्तारीले सरकारको “संवादहीन र दमनकारी चरित्र” उजागर गरेको छ । वक्तव्यमा भनिएको छ—चुनावको नाममा अघि बढाइएको वर्तमान प्रक्रियाले जनताको सुशासन, स्थिरता र आत्मनिर्भर विकासप्रतिको आकांक्षा सम्बोधन गर्न नसक्ने मात्रै होइन, देशको स्वाधीनतालाई समेत गम्भीर संकटतर्फ धकेल्ने खतरा बढाएको छ ।
पार्टीले महासचिवसहित गिरफ्तार नेताहरूको अविलम्ब स–सम्मान रिहाइको माग गर्दै चुनावविरोधी शान्तिपूर्ण कार्यक्रमलाई आपराधिककरण गर्नु “न्यूनतम लोकतान्त्रिक अधिकारको उपहास” भएको दाबी गरेको छ । साथै, यस कदमलाई संवाद र सहमतिका सम्भावनाहरू बन्द गर्ने “निरंकुश र फासिवादी प्रवृत्ति” को प्रदर्शनका रूपमा चित्रित गरिएको छ ।
वक्तव्यमा सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा मानवअधिकारवादी संघ–संस्थालाई रिहाइका लागि पहल गर्न अपिल गरिएको छ । पार्टीले राजनीतिक असहमतिको समाधान दमनबाट होइन, खुला बहस र सहमतिबाट खोजिनुपर्ने धारणा पुनः दोहोर्याउँदै आन्दोलनलाई थप सशक्त बनाउने संकेत पनि दिएको छ ।
मंगलबार जारी उक्त वक्तव्यले समसामयिक राजनीतिक परिस्थिति थप तातेको संकेत दिएको छ । गिरफ्तार घटनाले चुनाव, लोकतान्त्रिक अधिकार र राज्यको भूमिकाबारे बहसलाई नयाँ मोड दिने देखिएको छ ।




