पछिल्लो समय नेपालको राजनीति विशिष्ट परिस्थितिबाट गुज्रिँदैछ । विशेष गरी गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको आन्दोलनले देशको सत्ता परिवर्तन त गरायो, तर सत्ताको आधारभूत चरित्र भने ज्यूँका त्यूँ छ । पुरानो संविधानकै आधारमा सरकार गठन र सञ्चालन भइरहेकाले आन्दोलनको मूल उद्देश्य अपूर्ण रह्यो ।
साथै, देश गम्भीर रूपमा भूराजनीतिक संकटतर्फ धकेलिँदै गएको अनुभूति जनतामा बढ्दो छ । अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन तोकेको छ र सबै दलहरू आफ्ना रणनीतिमा व्यस्त देखिन्छन् । यसै सन्दर्भमा, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र वास्तोला ‘कञ्चन’ सँग समसामयिक विषयमा लिइएकाे अन्तर्वार्ताको सम्पादित अंश प्रस्तुत गरेका छाैं ।
यस मिडियामा यहाँलाई स्वागत छ ।
♦ धन्यवाद ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई तपाईंले कसरी नियालिरहनु भएकाे छ ?
♦ ती दुई दिनको विद्रोहले नेपालमा जनताको विद्रोह सम्भव छ, र जनताले चाहे भने छिटो भन्दा छिटाे सत्ता परिवर्तन गर्न सक्छन् भन्ने प्रमाणित गरिदिएकाे छ ।
त्यो आन्दोलनलाई क्रान्ति भन्न सकिन्छ कि केवल सत्ता परिवर्तन ?
♦ राजनीतिक दृष्टिले त्यो पश्चगमन हो, तर आन्दोलनका दृष्टिले नयाँ शिक्षा हो । यसले नेकपा (बहुमत) ले अघि सारेको रणनीति र कार्यनीतिको वैज्ञानिक पुष्टि गरेको छ ।
कसरी पुष्टि भयो ?
♦ संसददेखि सडकसम्म भएका बहसहरूले देखाएको छ – एकथरीले भनेका थिए नेपाल श्रीलंका र बंगलादेश बन्दैछ; अर्को थरीले त्यसलाई अस्वीकार गरे । तर आज वास्तविकता के भयो ? नेपाल पनि श्रीलंका र बंगलादेशजस्तै अवस्थातिर गयो ।
हामीले पहिले नै चेतावनी दिएका थियौँ – यदि विचारधारात्मक, राजनीतिक, संगठनात्मक र सांस्कृतिक पुनर्गठन भएन भने विस्फोट त हुन्छ, तर उपलब्धी सीमित रहन्छ । त्यो अहिले ठ्याक्कै भयो ।
के नेपाली जनताले विदेशी हस्तक्षेप चाहेका थिए ?
♦ किमार्थ होइन । नेपाली युवाहरूले विदेशी हस्तक्षेप होइन, भ्रष्टाचार, कुशासन, दलाल पूँजीवाद, र नातावादको अन्त्य चाहेका थिए । शिक्षा, स्वास्थ्य, बैंक, रोजगार, र शासनमा व्यापारीकरणको विरोध गरेका थिए ।
तर, आन्तरिक लुट र अस्थिरताले विदेशी शक्तिलाई हस्तक्षेप गर्न अवसर दियो । अब नेपाली युवाहरूले त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्छ ।
जेनजी आन्दोलनका मागहरू पूरा भए ?
♦ जेन्जी आन्दाेलनका मागहरू (१) राजनीतिक स्थिरता र (२) जननिर्वाचित कार्यकारी प्रमुख थिए । यी मागपछि थपिए: भ्रष्टाचार अन्त्य र २०४७ यताका पदाधिकारीहरूको सम्पत्ति छानबिन । तर कुनै माग पूरा भएनन् । अहिलेको प्रणालीले ती माग सम्बोधन गर्न सक्दैन । आन्दाेलन असफल भयाे, त्यसैले, २३ र २४ का कमजोरीबाट सिकेर फेरि उस्तै आन्दोलन आवश्यक छ।
आन्दोलन असफल किन भयो ?
♦ मुख्य समस्या थियो — स्वाधीन संयोजन र राजनीतिक संगठनको अभाव । जेनजी आन्दोलनसँग आफ्नै राजनीतिक संरचना थिएन । त्यसैले, जनताको शक्ति निर्माण हुन सकेन ।
उनका चार मुख्य माग पूरा गर्न नयाँ संविधान चाहिन्थ्यो । तर पुरानै संविधानमा सबै काम गरियो । यो संविधान दलाल पूँजीवादको उत्पादन भएकाले यसबाट युवाहरूको माग पूरा हुनै सक्दैन । त्यो नबुझ्नु नै उनीहरूको ठूलो कमजोरी हो ।
सामाजिक सञ्जाल बन्द गर्ने विषय पनि आन्दोलनको कारण थियो नि ?
♦ त्यो केवल एक “बहाना” थियो। संभावित रूपमा प्रायोजित वा योजनाबद्ध कदम थियो, जसबाट सरकारले सामाजिक सञ्जाल बन्द गरायो र उनीहरू त्यसमा सफल भए ।
अहिलेको राजनीतिक परिस्थिति र देशकाे अवस्थालाई कसरी विश्लेषण गरिरहनुभएकाे छ ?
हाम्रो पार्टीको स्थायी समिति बैठकले हालको राजनीतिक परिस्थिति र देशको दिशाबारे गहिरो समीक्षा गरी केही महत्वपूर्ण निष्कर्षहरू निकालेको छ ।
हामीले विश्लेषण गरेका छौँ, अहिलेको विद्रोहको स्वरूप के हो ? नेपाल आज कहाँ उभिएको छ ? र अबको जनकार्यभार के हो ?
हाम्रो निष्कर्ष अनुसार, यो विद्रोह बेथिति, भ्रष्टाचार र असमानताका विरुद्ध युवाहरूले उठाएको स्वाभाविक आन्दोलन थियो ।
यो आन्दोलन महान जनयुद्धको नै निरन्तरता हो — जुन विद्राेहले गणतन्त्रको जग बसाएको थियो ।
तर, विडम्बना के भयो भने, जनयुद्धकै मार्गमा हिँडिरहेको यो आन्दोलन अन्ततः साम्राज्यवादी शक्तिद्वारा अपहरण गरियाे र दलाल पूँजीवादकै दिशातर्फ मोडियो ।
अहिले देशभित्र तीन प्रकारका शक्ति सक्रिय छन् – अग्रगामी, यथास्थितिवादी र पश्चगामी । हालकाे अवस्थामा पश्चगामी शक्ति हाबी भएको स्पष्ट देखिन्छ।
भदौ २४ पछि देश प्रतिगमनको बाटोतर्फ धकेलिएको छ । जनसार्वभौमिकता हरण भइसकेको छ, राष्ट्रिय स्वाधीनतामाथि आक्रमण भइसकेको छ ।
तर, नेपाली जनताको चाहना भने अग्रगमनतर्फको हो । र त्यो अग्रगमनको मार्ग वैज्ञानिक समाजवाद बाहेक अरू केही हुन सक्दैन ।
नेपालमा समाजवादी क्रान्ति सम्भव छ ?
♦ अवश्य, समाजमा तीव्र अन्तरविरोध छ — आन्दोलनकारी निशस्त्र भए पनि शक्तिशाली छन्; सत्ताधारी सशस्त्र भए पनि कमजोर छन् । संक्रमणको अवस्था स्थिर हुँदैन — यो या त प्रतिगमनमा, या त अग्रगमनमा जान्छ ।
त्यसैले, नेपालमा परिवर्तन र समाजवादी क्रान्ति सम्भव छ ।
नेकपा (बहुमत) लगायत सडकमा रहेका पार्टीहरूको आगामी कार्यभार के हो ?
♦ हाम्रा मुख्य माग तीन बुँदामा छन्,
१️. मृतप्राय संविधानको खारेजी र नयाँ संविधानको लेखन ।
२️. दलाल पूँजीवादी सत्ताको अन्त्य ।
३️. वैज्ञानिक समाजवादी सत्ताको स्थापना ।
यीसहित जनताको स्वतन्त्रता, प्रगति, र समृद्धि सुनिश्चित गर्ने नीति लागू गर्नुपर्छ । प्रगतिकामी अन्य दलहरूको पनि यही उद्देश्य हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।
फागुन २१ गते तोकिएको चुनावबारे तपाईंको धारणा के छ, संसदवादी पार्टीहरु त चुनावमा जाने कुरा गर्दै छन् त ?
♦ याे चुनावले मुलुक र जनतालाइ कुनै निकास दिँदैन । संसदवादी दलहरूले बुझ्नुपर्छ, यथास्थितिवादले उपलब्धीको रक्षा गर्न सक्दैन । अग्रगमनमा नगए प्रतिगमन अनिवार्य हुन्छ । नेपालले विगतमा पाएका उपलब्धीहरू गुमिरहेका छन्, विदेशी हस्तक्षेप बढ्दाे छ, सामाजिक अधिकार विस्तार, र राष्ट्रिय स्वाधीनता — अहिले खतरा भित्र छन् । एनजीओ–आईएनजीओ र विदेशी सल्लाहकारहरूको प्रभुत्व बढ्दो छ ।
त्यसैले, संसदवादी पार्टीहरूले पनि जेनजी आन्दोलनका मागहरूलाई सम्बोधन गर्ने नयाँ संविधान निर्माणको बाटो समात्नुपर्छ ।
संसद पुनर्स्थापनाको माग उठ्दैछ, के यो समाधान हो ?
♦ याे समाधान होइन, यो प्रतिगमनभित्रको प्रतिगमन हो । कोमामा पुगेको संविधान पुनर्जीवित गरेर केही हुँदैन । बरु, संविधान खारेज गरेर नयाँ संविधान लेख्ने संविधान आयोग वा संविधान सभा गठन हुनुपर्छ ।
राष्ट्रपतिलाई पनि नयाँ राजनीतिक ढाँचाअनुसार पुनःनिर्माण गर्नुपर्छ । प्रदेश संरचना पुनर्गठन, स्थानीय निकाय जनमुखी बनाउने, र स्वाधीन संयुक्त सरकार निर्माण गर्नुपर्छ — जसमा सबै देशभक्त र क्रान्तिकारी शक्ति सहभागी हुन् ।
यी सबै कार्य गर्न फेरि आन्दोलन आवश्यक छ नि ?
♦ पूर्णतः सहि कुरा हो । अब फेरि आन्दोलन अपरिहार्य छ । तर यो आन्दोलन व्यक्तिगत वा दलगत स्वार्थको होइन, राष्ट्र र जनताको हितको लागि केन्द्रित हुनुपर्छ ।
सबै क्षेत्र र स्वार्थका आन्दोलनकारीहरुलाई पश्चगमन र यथास्थितिबाट होईन, अग्रगमन सहित राष्ट्र र जनताको हितमा सोच्न, राष्ट्रिय एकता निर्माण गर्न, स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन केन्द्रित गरौ भन्ने हाम्रो पार्टीको अपिल छ । हाम्रो पार्टी यी नै उद्देश्य प्राप्त गर्ने नीति र कार्यक्रम सहित लामो समय देखिनै आन्दोलनको निरन्तरतामा छ ।
हाम्रो पार्टी लामो समयदेखि यही उद्देश्यका साथ निरन्तर संघर्षमा छ । नेपाली जनता अन्ततः विजयी हुनेमा हामी दृढ छौँ ।
समयका लागि धन्यवाद ।
♦ विशेष आभार सहित धन्यवाद ।





