काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेताहरूको गिरफ्तारीविरुद्ध क्रान्तिकारी तथा उत्पीडित समुदायका संगठनहरू आक्रोशित बनेका छन् । आदिवासी जनजाति बहुराष्ट्रिय संघ नेपाल र एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय नेतृत्वद्वारा सार्वजनिक संयुक्त प्रेस वक्तव्यले यस घटनालाई “गैरन्यायिक, अराजनीतिक र दमनकारी” कदमको संज्ञा दिएको छ ।
संयुक्त वक्तव्यअनुसार कथित चुनाव खारेजीको मागसहित सम्पन्न शान्तिपूर्ण ‘नेपाल बन्द’ कार्यक्रमपछि साँझ गरिएको गिरफ्तारीले राज्यको चरित्र पुनः उदाङ्गो पारेको आरोप लगाइएको छ । वक्तव्यमा वर्तमान दलाल संसदीय व्यवस्थाले राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकामाथि निरन्तर प्रहार गरिरहेको उल्लेख गर्दै यस्तो दमनले देशलाई थप राजनीतिक अस्थिरता र द्वन्दतर्फ धकेल्ने चेतावनी दिइएको छ ।
वक्तव्यमा स्पष्ट गरिएको छ कि वर्तमान दलाल संसदीय व्यवस्था र यस अन्तर्गत गरिने कथित चुनाव बहिष्कार गर्नु, ‘नो भोट’ अभियान चलाउनु वा वैकल्पिक राजनीतिक कार्यक्रम अघि सार्नु जनताको लोकतान्त्रिक अधिकारभित्र पर्दछ । वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नै उत्पीडित, किसान, मजदुर, दलित, जनजाति, महिला तथा श्रमजीवी जनताको मुक्तिमार्ग भएको दाबी गर्दै क्रान्तिकारी शक्तिहरूले संघर्षलाई अझ सशक्त बनाउने संकेत गरेका छन् ।
गृह प्रशासनद्वारा गरिएको गिरफ्तारीलाई साम्राज्यवादी स्वार्थअनुकूल दमनको निरन्तरता ठहर गर्दै संयुक्त वक्तव्यमा भनिएको छ— “राष्ट्र र जनताको पक्षमा उभिएका नेतृत्वमाथिको यस्तो आक्रमण स्वाभिमानी नेपाली जनतामाथिको चुनौती हो ।”
संयुक्त प्रेस वक्तव्यमा गिरफ्तार गरिएका पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ तथा अन्य नेताहरूलाई बिनाशर्त तत्काल रिहा गर्न जोडदार माग गरिएको छ । अन्यथा, दमनकारी कदमहरूको राजनीतिक र ऐतिहासिक हिसाब नेपाली जनताले गर्ने चेतावनी समेत दिइएको छ । 





