काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) १ नम्बर व्यूरोले आफ्ना ब्यूरो सदस्य तथा पाँचथर जिल्ला सचिव डिल्लीबहादुर कटुवाललाई झापा जिल्ला बुद्धशान्ति गाउँपालिका–५, शान्तिनगरबाट प्रहरीले ‘अपहरण-शैली’मा गिरफ्तार गरेको भन्दै कडा आपत्ति जनाएको छ ।
पार्टीका १ नं. व्यूरोका कार्यालय सचिव अनुपमद्वारा जारी प्रेस वक्तव्यअनुसार, संगठनात्मक कामको सिलसिलामा रहेका कटुवाललाई फागुन १३ गते दिउँसो करिब २ बजे विनाकारण पक्राउ गरिएको जनाइएको छ । वक्तव्यमा उक्त कार्यलाई नागरिकको नैसर्गिक हक–अधिकारमाथिको ठाडो हस्तक्षेप तथा गैर–न्यायिक गिरफ्तारीको संज्ञा दिइएको छ ।
पार्टीले शान्तिपूर्ण हिँडडुल, संघ–संगठनमा आबद्ध हुन पाउने संवैधानिक अधिकारको उल्लंघन भएको दाबी गर्दै यस घटनालाई “राज्य–आतङ्क”को रूपमा चित्रण गरेको छ । साथै, सरकार पक्षप्रति लक्षित गर्दै अविलम्ब कटुवालको रिहाइको माग गरिएको छ ।
वक्तव्यमा भनिएको छ कि यदि अविलम्ब रिहाइ नगरिएमा पार्टीले संघर्षका कार्यक्रम अघि बढाउनेछ र त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार पक्षले नै व्यहोर्नुपर्नेछ ।
पार्टीले मानवअधिकारकर्मी, पत्रकार, बुद्धिजीवी तथा न्यायप्रेमी जनसमुदायलाई घटनाविरुद्ध सशक्त आवाज उठाउन अपील समेत गरेको छ ।
उक्त घटनासमेतले पछिल्लो समय राजनीतिक दलका कार्यकर्तामाथि भइरहेको भनिएको प्रहरी निगरानी र गिरफ्तारीका विषयमा पुनः बहस सिर्जना गरेको छ । लोकतान्त्रिक अधिकार र राज्यसत्ताको भूमिका सम्बन्धी प्रश्न फेरि एकपटक सार्वजनिक विमर्शको केन्द्रमा आएको देखिन्छ । 





