काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत), १ नम्बर ब्युरो कार्यालयले आफ्ना उच्च तहका नेता तथा कार्यकर्ताहरूमाथि सरकारले शृङ्खलाबद्ध रूपमा दमन, धरपकड र गैर-न्यायिक गिरफ्तारी बढाएको भन्दै त्यसको कडा विरोध गरेको छ । ब्युरो कार्यालय सचिव अनुपमद्वारा जारी दुई छुट्टाछुट्टै प्रेस वक्तव्यमार्फत् मोरङ र तेह्रथुममा पार्टीका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टीले राज्यको यस्तो हर्कतलाई अलोकतान्त्रिक र निरङ्कुश कदमको संज्ञा दिएको छ ।
पार्टीका अनुसार मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका वडा नं. ६, रमाइलोबाट केन्द्रीय सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कृष्णप्रसाद चौलागाई ‘नरेश’ र ब्युरो सदस्य तथा जिल्ला सचिव सुमन पौडेललाई जनताको घरदैलो अभियानमा रहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, तेह्रथुमको म्याङ्लुङ नगरपालिकास्थित जिरिखिम्तिबाट केन्द्रीय सदस्य डिल्लीबहादुर बुढाथोकीलाई रातीको समयमा विना कुनै ठोस कारण र विना पुर्जी गिरफ्तार गरिएको भन्दै नेकपा (बहुमत) ले आपत्ति जनाएको छ । शान्तिपूर्ण राजनीतिक गतिविधिमा संलग्न नेताहरूलाई झुटा आरोपमा हिरासतमा राख्नुले विधिको शासन र नागरिक स्वतन्त्रताको उपहास गरेको पार्टीको ठहर छ ।
नेकपा (बहुमत) ले फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई जनविरोधी र कथितको संज्ञा दिँदै उक्त निर्वाचनप्रति आम जनतामा देखिएको व्यापक असन्तुष्टि र आक्रोशबाट अत्तालिएर शुशिला नेतृत्वको वर्तमान सरकारले दमनको बाटो रोजेको दाबी गरेको छ । विचारको लडाइँलाई प्रहरी प्रशासन र बन्दुकको आडमा दबाउन सकिन्छ भन्ने दिवास्वप्न नदेख्न चेतावनी दिँदै विज्ञप्तिमा सरकारको यस्तो कार्यलाई पराजित मानसिकताको उपज भनिएको छ । राज्य शक्तिको दुरुपयोग गरी सिर्जना गरिएको राज्य-आतङ्कले पार्टीको क्रान्तिकारी अभियानलाई नरोक्ने बरु थप उचाइमा पुर्याउने दाबी समेत गरिएको छ ।
पार्टीले गिरफ्तार गरिएका कमरेडहरू कृष्णप्रसाद चौलागाई, सुमन पौडेल र डिल्लीबहादुर बुढाथोकीलाई विना शर्त अविलम्ब रिहा गर्न जोडदार माग गरेको छ । जनभावनाको उपेक्षा गर्दै दमन र धरपकडको सिलसिला तत्काल नरोकिएमा पार्टीले त्यसको विरुद्ध कडा सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिएको छ । सङ्घर्षबाट उत्पन्न हुने जुनसुकै परिस्थिति र परिणामको पूर्ण जिम्मेवार वर्तमान कठपुतली सरकार र यसको प्रशासन संयन्त्र हुनुपर्ने कुरामा नेकपा (बहुमत) ले स्पष्ट पारेको छ ।
अन्तमा, नेकपा (बहुमत) ले नागरिक अधिकार र मानवअधिकारको गम्भीर उल्लङ्घन हुने यस्ता हर्कतहरूका विरुद्ध सशक्त आवाज उठाउन मानवअधिकारकर्मी, सञ्चारकर्मी, बुद्धिजीवी र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गरेको छ । पार्टीले राजनीतिक आस्थाका आधारमा गरिने गिरफ्तारीले समस्याको समाधान नहुने भन्दै लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्न समेत सरकारलाई सचेत गराएको छ । 





