काठमाडाैं । मोरङको बुढिगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङद्वारा लिखित पुस्तक जलाइएको घटनाले देशको राजनीतिक वातावरण तातेको छ ।
संस्थागत निर्णयको आडमा पुराना तथा धमिरा लागेका कागजात जलाउने बाहना बनाउँदै २०८२ फागुन ३० गते घटाइएको भनिएकाे यस घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले तीव्र आक्रोश व्यक्त गर्दै यसलाई सामान्य असहमति नभई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमाथिको “सुनियोजित र खतरनाक आक्रमण” को रूपमा व्याख्या गरेको छ ।
पार्टीका १ नम्बर ब्युरो कार्यालय सचिव अनुपमद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ— यो घटना केवल एउटा पुस्तक जलाउने क्रियाकलाप होइन, बरु नेपाल–चीनबीचको ऐतिहासिक मित्रता, पारस्परिक सम्मान र समाजवादी एकताको आधारलाई कमजोर पार्ने षड्यन्त्र हो ।
वक्तव्यमा नेपाल–चीन सम्बन्धलाई कूटनीतिक सीमाभन्दा माथि उठेको, जनस्तरको विश्वास र साझा संघर्षमा आधारित गहिरो सम्बन्धको रूपमा चित्रण गरिएको छ ।
यसैबीच, पार्टीले नेपालमा बढ्दो पश्चिमा प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विशेषतः मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पारित भइसकेको र स्टेट पार्टनरशिप प्राेग्राम (एसपीपी) सम्बन्धी चर्चा र बहस चलिरहेका बेला यस्तो घटना हुनु “संयोग मात्र होइन” भन्ने आशंका पनि उठाइएको छ ।
यस्तो संवेदनशील समयमा भएको उक्त घटना “उच्छृङ्खल, उक्साहटपूर्ण र प्रतिक्रियावादी” भएको भन्दै पार्टीले कडा शब्दमा निन्दा गरेको छ ।
पार्टीले यसलाई नेपालमा बढ्दो भूराजनीतिक चलखेलसँग जोड्दै यस्ता गतिविधि योजनाबद्ध रूपमा अघि बढाइएको हुनसक्ने संकेत गरेको छ । “यसले साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूलाई प्रोत्साहन दिन सक्छ,” वक्तव्यमा चेतावनी दिइएको छ ।
नेकपा (बहुमत) ले सरकारसँग घटनाको तत्काल निष्पक्ष, गहिरो र पारदर्शी छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कडा माग गरेको छ । साथै, यस्ता गतिविधि दोहोरिन नदिन कडा प्रशासनिक कदम चाल्न पनि आग्रह गरिएको छ ।
पार्टीले सम्पूर्ण राजनीतिक दल, विद्यार्थी संगठन र आम जनतालाई जिम्मेवार बन्न आह्वान गर्दै नेपाल भूमि कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिन सचेत रहन आग्रह गरेको छ ।
वक्तव्यमा “एक–चीन नीति” प्रति पार्टीको अडान पुनः दोहोर्याउँदै यसलाई केवल कूटनीतिक औपचारिकता नभई साम्राज्यवादविरोधी संघर्षको महत्वपूर्ण आधार भनिएको छ ।
अन्त्यमा, नेकपा (बहुमत) ले देशभक्त, प्रगतिशील र क्रान्तिकारी शक्तिहरूलाई “उक्साहटपूर्ण र विभाजनकारी गतिविधिविरुद्ध एकताबद्ध भएर उभिन” आह्वान गर्दै वर्तमान अवस्थालाई वैचारिक स्पष्टता र अन्तर्राष्ट्रिय मित्रताको रक्षा गर्ने ऐतिहासिक घडीको रूपमा व्याख्या गरेको छ ।






