काठमाडौं/ नेपालमा पछिल्लो समय मुद्रास्फीति पुनः उकालो लाग्न थालेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षकै हाराहारीमा रहेको छ ।
यसअघि कात्तिक र मंसिर महिनामा मुद्रास्फीति न्यून स्तरमा रहेको थियो । फागुनसम्म आइपुग्दा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.३३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी दर क्रमशः ३.३४ प्रतिशत र ३.९७ प्रतिशत थिए ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा औसत मुद्रास्फीति २.१३ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ४.७२ प्रतिशतभन्दा उल्लेख्य रूपमा कम हो । यस अवधिमा तरकारीको मूल्य ११.४९ प्रतिशतले बढेको छ भने घिउ तथा तेलमा ९.८६ प्रतिशत र फलफूलमा ९.६३ प्रतिशत वृद्धि देखिएको छ ।
यता दाल तथा गेडागुडीको मूल्य ३.६६ प्रतिशतले घटेको छ । साथै खाद्य तथा खाद्यजन्य वस्तुमा २.१८ प्रतिशत र मरमसलामा २.०३ प्रतिशत गिरावट आएको छ ।
गैरखाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उपसमूहमा सबैभन्दा बढी २२.८१ प्रतिशत मूल्यवृद्धि देखिएको छ । शिक्षा क्षेत्रमा ७.४६ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ४.७३ प्रतिशत र सुर्तीजन्य पदार्थमा ३.५७ प्रतिशत वृद्धि भएको छ । यद्यपि बीमा तथा वित्तीय सेवामा ०.०३ प्रतिशतले गिरावट आएको छ ।
क्षेत्रगत रूपमा हेर्दा ग्रामीण क्षेत्रमा मुद्रास्फीति ३.०६ प्रतिशत र सहरी क्षेत्रमा ३.८२ प्रतिशत पुगेको छ । प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा बढी ४.९५ प्रतिशत मुद्रास्फीति रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम २.२१ प्रतिशत देखिएको छ ।
अर्थविद्हरूका अनुसार खाद्य वस्तु र सेवा क्षेत्रमा मूल्यवृद्धि बढ्दै जाँदा आगामी महिनामा मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने संकेत देखिएको छ ।





