काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको प्रस्ताव अघि सारे पनि पार्टीभित्र यसबारे फरक मत देखिएको छ । बुधबारदेखि सुरु भएको दसौँ केन्द्रीय कमिटी बैठकमा ओलीको विशेष प्रस्तावमाथि छलफल भइरहेका बेला केही सदस्यहरूले भने अब पार्टीले निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन् ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई मुख्य प्राथमिकता बनाउनुपर्ने सदस्यहरूको भनाइ छ । उनका अनुसार, जेनजी आन्दोलन पछि बनेको नयाँ राजनीतिक परिदृश्यमा पुनः प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्नुभन्दा जनमत हासिल गर्ने तयारीमा पार्टी जुट्नुपर्ने समय आएको हो ।
बैठकमा निर्वाचनको पक्षमा बोल्ने नेताहरूमा विष्णु रिजाल, हरि राई, सोम मिश्रलगायत रहेका छन् । एक केन्द्रीय सदस्यका अनुसार, रिजालले पुनर्स्थापनाको माग गर्ने हो भने सुशीला कार्की नेतृत्वको सरकार खारेज गर्नुपर्ने तर्क गरेका थिए । उनले भनेका छन्, “सुशीला कार्कीको सरकार र प्रतिनिधि सभा पुनर्स्थापना सँगै जान सक्दैनन् ।”
रिजालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वास गुमाएर वा सहभागी दलको समर्थन फिर्ता लिएर राजीनामा नदिएको उल्लेख गर्दै भनेका थिए, “खासमा भन्दा हामीले नसकेर सरकार छाडेको हो ।”
पहिलो दिनको बैठकमा करिब ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयमा पनि चर्चा भएको थियो । यस विषयमा विद्यासुन्दर शाक्य, शर्मिला कार्की, सरिता न्यौपाने र हरि राईलगायतले भण्डारीलाई पार्टी सदस्यता दिई पार्टीमा स्वागत गर्नुपर्ने धारणा राखेका थिए ।
त्यस बाहेकका अधिकांश सदस्यहरूले भने अध्यक्ष ओलीको प्रस्तावको समर्थन गरेका छन् । बैठक बिहीबार पनि जारी रहने छ ।




