Bahumat Khabar

इस्लामावाद वार्ता निष्कर्षविहीन: अमेरिका–इरान संवाद खुले पनि शान्ति अझ टाढा

 काठमाडौं / पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा भएको उच्चस्तरीय अमेरिका-इरान वार्ता २१ घण्टापछि बिना सहमति टुंगिएको छ। करिब चार दशकपछि पहिलोपटक दुवै देशका शीर्ष प्रतिनिधिहरू एउटै टेबलमा बसेर प्रत्यक्ष संवाद गरे पनि मुख्य मुद्दाहरूमा गहिरो मतभेद कायम रहँदा ठोस सम्झौता हुन सकेन ।

यो वार्ता अप्रिल ७ मा भएको अस्थायी युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको थियो । तर स्ट्रेट अफ होर्मुज खोल्ने समय, इरानको आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध हटाउने विषय र क्षेत्रीय द्वन्द्वजस्ता जटिल मुद्दामा सहमति जुट्न सकेन ।

अमेरिकी पक्षले तत्काल जलमार्ग खोल्न र आणविक कार्यक्रम सीमित गर्न दबाब दिएको थियो भने इरानले पूर्ण शान्ति सम्झौतापछि मात्र कदम चाल्ने अडान राख्यो। साथै, इरानले रोकिएको सम्पत्ति फुकुवा र युद्ध क्षतिपूर्तिको माग राख्दा अमेरिका यसमा तयार देखिएन ।

वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले “सहमति नहुनु इरानका लागि बढी नकारात्मक” भएको प्रतिक्रिया दिए । उता इरानी पक्षले अमेरिकाका कडा सर्तहरू नै असफलताको कारण भएको जनाएको छ ।

यद्यपि, कूटनीतिक रूपमा यो वार्ता पूर्ण असफल भने मानिएको छैन। सन् १९७९ पछि पहिलोपटक प्रत्यक्ष संवाद हुनु आफैंमा ठूलो उपलब्धि मानिएको छ । यसले भविष्यका वार्ताका लागि आधार तयार गरेको विश्लेषकहरूको भनाइ छ ।

अब अप्रिल २२ मा सकिन लागेको युद्धविरामको म्यादअघि तीन सम्भावना देखिएका छन्पु-नः वार्ता, युद्धविराम विस्तार, वा पुनः युद्धको जोखिम ।

पाकिस्तानले भने दुवै पक्षलाई संवादमा राख्न आफ्नो प्रयास जारी राख्ने जनाएको छ । विशेषज्ञहरूका अनुसार, “युद्ध सुरु गर्न सजिलो भए पनि शान्ति स्थापना गर्न समय, विश्वास र लचकता आवश्यक पर्छ ।”

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.