काठमाडौं / बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएसँगै अमेरिकी दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी बालेन सरकार बनेपछि नेपाल भ्रमण गर्ने पहिलो उच्चस्तरीय अमेरिकी कूटनीतिज्ञ हुन् ।
सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका कपुरले आफ्नो भ्रमणको सुरुवात सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेर गरेका छन् । भेटमा नेपाल-अमेरिका सम्बन्ध र सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको बताइएको छ, यद्यपि विस्तृत विषय सार्वजनिक गरिएको छैन ।
त्यसैदिन उनले अमेरिकी उद्योग प्रतिनिधिहरूसँग नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रमा लगानी र व्यापार विस्तारबारे पनि छलफल गरेका थिए । डिजिटल पूर्वाधार सुदृढीकरण, कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, साइबर सुरक्षा मजबुतीकरण तथा प्रविधि आदानप्रदानका विषयमा कुराकानी भएको जनाइएको छ ।
गत वर्ष अक्टोबरमा डोनाल्ड ट्रम्पद्वारा नियुक्त कपुरले यसअघि दक्षिण एशियाली देशहरूमा पनि सक्रिय कूटनीतिक भेटघाट गर्दै आएका छन् । तीन दिने नेपाल भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग भेट गर्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्रीसँगको भेट भने अझै निश्चित भएको छैन ।
विश्लेषकहरूका अनुसार कपुरको यो भ्रमण नयाँ सरकारसँग सम्बन्ध सुदृढ गर्ने र विशेष गरी प्रविधि तथा आर्थिक सहकार्य विस्तार गर्ने अमेरिकी रणनीतिक पहलको रूपमा हेरिएको छ ।





