Bahumat Khabar

रास्वपाको ‘नयाँ राजनीतिक पाठशाला’ : रवि लामिछानेको सन्देश– भाइरल होइन, राज्य सञ्चालन सिक्नुस्

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई केवल वैकल्पिक शक्ति नभई दीर्घकालीन राजनीतिक शक्ति बनाउने लक्ष्यसहित आफ्ना सांसद र नेताहरूलाई संसदीय अभ्यास र शासन सञ्चालनको गहिरो प्रशिक्षण दिन थालेको छ । ललितपुरमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई स्पष्ट सन्देश दिए- “भाइरल भएर होइन, इतिहास लेखेर राजनीतिमा स्थापित हुनुपर्छ ।”

संसदीय मर्यादा, कानुन निर्माण प्रक्रिया, सत्ता सञ्चालन र राजनीतिक जिम्मेवारीबारे केन्द्रित उक्त कार्यक्रम रास्वपाको आगामी राजनीतिक दिशा र शासन शैलीको संकेतका रूपमा पनि हेरिएको छ ।रास्वपाले विगतमा पुराना दलहरूको कडा आलोचना गर्दै आएको भए पनि लामिछानेले यसपटक नेपाली कांग्रेस, एमाले र माओवादीजस्ता दलहरूको ऐतिहासिक योगदानको खुलेर प्रशंसा गरे ।

उनले पञ्चायतविरुद्धको संघर्ष सम्झँदै भने, “उहाँहरूले परिवार छाडेर, ज्यानको जोखिम मोलेर व्यवस्था परिवर्तनका लागि लड्नुभयो  । आज हामी त्यही संघर्षको जगमा उभिएका छौँ।”त्यसको तुलना गर्दै उनले रास्वपाको उदयलाई “विश्वकै सबैभन्दा सजिलो क्रान्ति” को संज्ञा दिए। “हामीलाई जनताले सहज रूपमा स्वीकारे। यस्तो सजिलो बाटोबाट आएर पनि देश बदल्न सकेनौँ भने त्यो हाम्रो असफलता हुनेछ,” उनले भने ।

रास्वपाका धेरै सांसदहरू सामाजिक सञ्जाल र टेलिभिजनमार्फत चर्चामा आएका अनुहार हुन्। तर लामिछानेले यही प्रवृत्तिमाथि प्रश्न उठाउँदै सांसदहरूको मुख्य काम ‘भाइरल’ हुनु नभई कानुन बनाउनु भएको बताए।“संसदीय समितिमा क्यामेरा धेरै देखियो भन्दैमा चर्को बोल्ने होइन । अध्ययन गरेर बोल्ने संस्कृति बनाउनुपर्छ,” उनले भने ।

उनले मिडियामा चर्चित हुन खोज्ने प्रवृत्तिले राजनीतिलाई सतही बनाउने चेतावनी दिँदै सांसदहरूलाई विधेयक अध्ययन र नीतिगत बहसमा केन्द्रित हुन निर्देशन दिए।पछिल्लो समय पार्टीभित्र कथित “रवि-बालेन” विभाजनको चर्चा भइरहेका बेला लामिछानेले त्यसलाई भ्रमको संज्ञा दिए ।“कोही म यताको, म उताको भन्दै गुट बनाउन खोजिरहेका छन् । हामी त्यो सुनेर हाँस्छौँ,” उनले भने।गुटबन्दी गर्ने प्रवृत्ति रास्वपामा स्वीकार्य नहुने स्पष्ट पार्दै उनले चेतावनी दिए– “जो गुटको राजनीति गर्छ, उसले अर्को चुनावमा टिकट पाउँदैन ।”

सुकुमबासी बस्ती हटाउने विषयमा भइरहेको आलोचनाको जवाफ दिँदै लामिछानेले सरकारले वास्तविक भूमिहीनको पक्षमा काम गर्ने तर सार्वजनिक जग्गा अतिक्रमणलाई संरक्षण नगर्ने बताए ।“हामी कसैलाई घरबारविहीन बनाउँदैनौँ, तर खोला किनार र सार्वजनिक जग्गा कब्जा गर्न पनि दिँदैनौँ,” उनले भने ।

उनले पुराना दलहरूले वर्षौँसम्म यो समस्या समाधान नगरी राजनीतिक फाइदाका लागि प्रयोग गरेको आरोप पनि लगाए।नेपालको राजनीतिमा सांसदहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट केन्द्रित गर्ने प्रवृत्तिमाथि टिप्पणी गर्दै लामिछानेले सांसदहरूलाई देशव्यापी सोच विकास गर्न आग्रह गरे ।

“मन्त्रीको ढोका चहारेर बजेट माग्ने राजनीति अब अन्त्य हुनुपर्छ । हामी केवल आफ्नो निर्वाचन क्षेत्रका प्रतिनिधि होइनौँ, सिङ्गो देशका जिम्मेवार पात्र हौँ,” उनले भने।सत्तामा पुगेपछि आलोचनाप्रति असहिष्णु बन्ने परम्परागत राजनीतिक संस्कृतिभन्दा फरक आफूहरू आलोचनालाई स्वागत गर्ने पक्षमा रहेको लामिछानेले बताए ।

“हामीमाथि अझ कडा प्रश्न उठ्नुपर्छ । त्यही खबरदारीले हामीलाई गलत बाटोमा जानबाट रोक्छ,” उनले भने।उनले रास्वपाले सरकार सम्हालेको छोटो समयमै “थिति बसाल्ने अभियान” सुरु गरेको दाबी गर्दै पुरानो शैलीको शासन अब नदोहोरिने उद्घोष गरे ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.