Bahumat Khabar

ने.क.पा (बहुमत) को स्थायी समिति बैठककाे निष्कर्ष, नयाँ क्रान्तिकारी आन्दोलन पुनर्गठनको आवश्यकता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को स्थायी समिति बैठक यही असोज २९ र ३० गते महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’को अध्यक्षतामा बसेर सम्पन्न भएको छ । बैठकले देशको समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत मूल्यांकन गर्दै महत्वपूर्ण राजनीतिक निष्कर्षहरू निकालेको छ ।

बैठकले पछिल्लो युवाआन्दोलन, शासन प्रणालीको विफलता, व्यापक भ्रष्टाचार र राष्ट्रिय स्वाधीनतामाथि परेका खतराबारे गहिरो समीक्षा गरेको जनाएको छ । पार्टीले जेनजीकाे आव्हानमा भदौ २३ र २४ गते देशभर भएकाे युवा–विद्यार्थीहरूको आन्दोलनलाई जनताको विद्रोही चेतनाको अभिव्यक्ति भएको भन्दै त्यसलाई सकारात्मक रुपमा लिएको छ  । तर आन्दोलनका मागहरू पूरा नहुनु र त्यसपछिको राजनीतिक परिस्थितिले देश पुनः प्रतिक्रियावादी मोडतर्फ फर्किनु जनताको हितमा नभएको निष्कर्ष बैठकले निकालेको छ ।

महासचिव बास्तोलाले जारी वक्तव्यमा भनेका छन्, “देशमा रहेको नौकरशाही, पुँजीवादी र नीतिगत भ्रष्टाचारले जनता निराश बनेका छन् र शासन व्यवस्थामाथि अविश्वास बढ्दै गएको छ। प्रतिक्रियावादी शक्तिहरूले जनआन्दोलनको सार हराउँदै पुनः पुरानै शोषणकारी प्रणाली कायम गर्न खोजिरहेका छन् ।”

वक्तव्यमा वर्तमान शासन प्रणालीले जनताको वास्तविक आवश्यकता सम्बोधन गर्न असफल भएको भन्दै नयाँ राजनीतिक विकल्पको आवश्यकता औंल्याइएको छ । साथै, युवा पुस्ताले उठाएका राष्ट्रघाती एनजिओ–आईएनजिओहरूको हस्तक्षेप र विदेशी स्वार्थविरुद्धको आवाजलाई उचित ठहर गर्दै पार्टीले राष्ट्रिय स्वाधीनता र जनसार्वभौमिकताको रक्षा गर्न सबै वामपन्थी तथा देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेको छ ।

बैठकले वर्तमान संवेदनशील राजनीतिक अवस्थालाई दक्षिणपन्थी सुधारवाद, पलायनवाद र आत्मसमर्पणको खतरा रहेको भन्दै वैज्ञानिक समाजवादको आधारमा नयाँ क्रान्तिकारी आन्दोलन पुनर्गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । वक्तव्यमा भनिएको छ, “देश र जनताको समस्याको क्रान्तिकारी समाधान खोज्ने सबै शक्तिहरूबीच एकता र समन्वय अपरिहार्य बनेको छ । क्रान्तिकारी शक्ति, संगठन र व्यक्तिहरूबीचको ऐक्यबद्धता र समन्वयले मात्रै देशको स्वतन्त्रता, जनताको मुक्ति र समाजवादको मार्ग प्रशस्त गर्न सक्छ ।”

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को स्थायी समिति बैठकले यसै सँगै देशको बदलिँदो राजनीतिक परिदृश्यमा पार्टीको आगामी रणनीति र जनतामुखी राजनीतिक विकल्प निर्माणमा अग्रसर हुने निर्णय गरेको जनाएको छ ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.