काठमाडौँ / लामो समयदेखि आर्थिक मन्दीको असर खेपिरहेको नेपालको घरजग्गा बजारमा पुनः सुधारको संकेत देखिएको छ। देशभरका मालपोत कार्यालयहरूको पछिल्लो तथ्यांकअनुसार चालु वर्षको वैशाख महिनामा घरजग्गा कारोबार उल्लेखनीय रूपमा बढेको छ ।
गत वर्ष वैशाखमा देशभर कुल १ लाख ४४ हजार कारोबार भएकोमा यस वर्ष सोही अवधिमा बढेर १ लाख ६९ हजार पुगेको छ । यससँगै समग्र सेवा प्रवाह र कारोबारमा करिब १७ दशमलव ७० प्रतिशतले वृद्धि भएको देखिएको छ ।
घरजग्गा कारोबारको मुख्य सूचक मानिने लिखत पारित अर्थात् जग्गा किनबेचमा पनि उत्साहजनक सुधार देखिएको छ । गत वर्ष वैशाखमा ५२ हजार ४१५ वटा लिखत पारित भएकोमा यस वर्ष बढेर ५८ हजार ८८६ पुगेको छ । यसले वास्तविक किनबेचमा १२ दशमलव ३४ प्रतिशत वृद्धि भएको संकेत गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुनु, ब्याजदर घट्नु तथा सरकारले कित्ताकाटसम्बन्धी नीतिमा केही खुकुलोपन ल्याउनुका कारण लगानीकर्ता र सर्वसाधारण पुनः घरजग्गा बजारतर्फ आकर्षित हुन थालेका हुन् ।
यस वर्ष काठमाडौं उपत्यकाभन्दा बाहिरका मोफसल क्षेत्रहरूमा कारोबार उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी दाङ, धनगढी, भद्रपुर र बुटवलमा घरजग्गा किनबेच तीव्र बनेको छ। काठमाडौं उपत्यकाभित्र भने भक्तपुर र ललितपुरको लगनखेल क्षेत्रमा कारोबार बढेको तथ्यांकले देखाएको छ ।
यद्यपि कारोबार बढे पनि घरजग्गा धितोमा लिइने ऋणमा अपेक्षित सुधार भने देखिएको छैन। रोक्का संख्या लगभग स्थिर रहँदा बैंक ऋण चुक्ता गरी जग्गा फुकुवा गर्ने दर भने २० प्रतिशतभन्दा बढीले बढेको छ ।
त्यस्तै, मालपोत कार्यालयहरूमा स्रेस्ता संशोधन र प्रशासनिक काममा पनि अत्यधिक चाप देखिएको छ । जग्गाको विवरण सच्याउने संशोधन कार्यमा १०२ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेका कागजात तथा अभिलेख अद्यावधिक गर्ने काम बढेकाले नेपालगन्ज र कलंकी मालपोत कार्यालयमा विशेष चाप परेको जनाइएको छ ।





