काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठकमा गृह र रक्षा सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने छन् ।
गृह मन्त्रालयका अनुसार बैठक आगामी निर्वाचनका लागि तयार गरिएको एकीकृत निर्वाचन सुरक्षा योजनाको प्रगति समीक्षा र त्यसको पृष्ठपोषण तथा नीतिगत निर्देशनमा केन्द्रित हुनेछ ।
शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा गठित समितिले देशभर लागू हुने गरी एकीकृत सुरक्षा योजना तयार गरिरहेको छ । गृहमन्त्री अर्यालले कार्यभार सम्हाल्नेबित्तिकै उक्त समिति गठन गरेका हुन् । समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्यका रूपमा छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य-सचिवका रूपमा कार्यरत छन् ।
मन्त्रालयले जनाएको अनुसार समितिले तयार पारेको योजना छिट्टै सबै जिल्लामा पठाइने छ । जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ ।
गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई सरकारको उच्च प्राथमिकता भएको बताउँदै भने, “हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ । एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ। निर्वाचन आयोगसँग पनि सघन समन्वय भइरहेको छ। सुरक्षा निकायहरूलाई आवश्यक स्रोत–साधनको कुनै कमी नहुने गरी काम भइरहेको छ।”
बैठकले निर्वाचन सुरक्षासम्बन्धी ठोस निर्णय गर्दै आगामी चरणका तयारीलाई तीव्रता दिने गृह मन्त्रालयको तयारी छ ।





