काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकहरूलाई मतदाता नामावलीमा नाम दर्ता गरेर आफ्नो मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् । उनले निर्वाचनलाई सबल बनाउन प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “सक्रिय नागरिक बनौँ, आफ्नो मताधिकार सुनिश्चित गरौँ ।” उनले मतदाता नामावलीमा नाम दर्ता भइसकेको/नभएको निर्वाचन आयोगको वेबसाइटबाट सहजै हेर्न सकिने पनि जानकारी दिएकी छन् ।
निर्वाचन आयोगका अनुसार १६ वर्ष उमेर पुगेका र नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । तर, मतदान गर्ने अधिकार भने फागुन २० गतेसम्म १८ वर्ष पूरा भएकाले मात्र पाउनेछन् ।
ऐनअनुसार मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि नयाँ नाम दर्ता गर्न नपाइने व्यवस्था भए पनि सरकारले आदेशमार्फत प्रक्रिया सक्रिय बनाएपछि असोज १२ गतेदेखि मतदाता नामावली दर्ता तथा अध्यावधिक सुरु भएको हो । आयोगका अनुसार आगामी ३० कात्तिकसम्म नाम दर्ता र अध्यावधिक कार्य जारी रहनेछ ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । कार्यतालिका अनुसार आगामी १ देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता हुने कार्यक्रम छ ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीका लागि २ माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने ३ देखि १८ फागुनसम्म निर्वाचन प्रचारप्रसारको अवधि रहनेछ । त्यसपछि प्रचार निषेध अवधि सुरु हुनेछ ।
निर्वाचनको मतदान २१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । मतपेटिका संकलनपछि दुवै निर्वाचन प्रणालीतर्फको मतगणना सुरु गरिने कार्यक्रम छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि भने १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ र १८–१९ पुसमा बन्दसूची पेस गर्ने कार्यक्रम तय गरिएको छ ।




