काठमाडौँ / देश औपचारिक रूपमा लोडसेडिङमुक्त भएको वर्षौँ भइसके पनि पछिल्लो समय देशभर झ्याप्प-झ्याप्प बिजुली जाने समस्या (ट्रिपिङ) अत्याधिक बढेको छ । उत्पादन पर्याप्त हुँदाहुँदै पनि अघोषित लोडसेडिङकै झल्को दिने गरी बत्ती कटौति हुन थालेपछि आम उपभोक्ता आक्रोशित बनेका छन् भने यसले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई समेत तनावमा पारेको छ ।
विशेषगरी अत्यधिक गर्मी भइरहेको मधेस प्रदेश र तराईका जिल्लाहरूमा बारम्बार बत्ती जाने र न्यून भोल्टेज (लो भोल्टेज) का कारण पङ्खासमेत नचल्ने स्थिति आएपछि जनजीवन कष्टकर बनेको छ । दिनमै ४-५ पटकसम्म बत्ती काटिन थालेपछि उपभोक्ताहरूले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै प्राधिकरणको व्यवस्थापनमाथि प्रश्न उठाएका छन् ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सेवाग्राहीलाई भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । समस्या समाधानका लागि कार्यदल गठन गरिएको र हटलाइन नम्बर ११५० र ११५१ मा आउने गुनासाहरूलाई तत्काल सम्बोधन गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको उनले जानकारी दिए ।
विद्युत् माग बढ्दो क्रममा रहे पनि दशकौँ पुराना र जीर्ण विद्युतीय संरचनाका कारण मागअनुसारको भार धान्न नसक्दा ट्रिपिङको समस्या आएको मन्त्री श्रेष्ठको स्वीकारोक्ति छ । यसको दीर्घकालीन समाधानका लागि राज्यले ठुलो लगानी गर्नुपर्ने र प्राधिकरणको आन्तरिक स्रोतले मात्र पर्याप्त नहुने उनले स्पष्ट पारे । यस्तै, ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्तामा ५ प्रतिशत भ्याट लगाउने बजेटको निर्णयले आधारभूत तहका नागरिकलाई असर नगर्ने र यो वित्तीय सुशासनका लागि मात्र ल्याइएको दाबी समेत उनले गरे ।
अहिले नेपालको विद्युत् जडित क्षमता ४,२०० मेगावाट नाघेको छ भने ‘पिक आवर’ को माग २,२०० देखि २,३०० मेगावाट मात्र छ । रातको समयमा नेपालले ६५० मेगावाटभन्दा बढी बिजुली भारत निर्यात समेत गरिरहेको छ । यस्तो अवस्थामा पनि उपभोक्ताले बिजुली बाल्न नपाएपछि ‘उज्यालोका नायक’ मानिने प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको कमी सर्वसाधारणले महसुस गर्न थालेका छन् ।
रोचक कुरा त, विपक्षीले मात्र नभई सत्तापक्षकै सांसदले समेत कुलमानको अभाव खट्किएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले संघीय संसद्मा बोल्दै झापालगायत तराईका क्षेत्रमा ४० डिग्रीभन्दा बढीको गर्मीमा बत्ती जाने समस्याले नागरिक आजित भएको उल्लेख गरे । उनले प्रश्न गरे, ‘विद्युत् आपूर्ति प्रणाली व्यवस्थापनका लागि यो मुलुकमा कुलमान घिसिङ नै चाहिने हो कि ?’
त्यस्तै, बाँके कोहलपुरका रास्वपा सभापति राजेन्द्र श्रेष्ठले पनि आम उपभोक्ताले फेरि कुलमानलाई सम्झनुपर्ने बेला आएको भन्दै आफ्नै पार्टीका मन्त्री रहेको ऊर्जा मन्त्रालयले यसको तत्काल समाधान गर्नुपर्ने माग गरेका छन् ।
१८ देखि २२ घण्टाको भयावह लोडसेडिङ अन्त्य गरेर घाटामा रहेको प्राधिकरणलाई अर्बौँको नाफामा पुर्याएका घिसिङलाई काठमाडौँ क्षेत्र नं. ३ का जनताले चुनावमा हराए पनि अहिले देशैभरि विद्युत् व्यवस्थापन फितलो देखिँदा सत्तापक्षकै नेता र आम सर्वसाधारणले फेरि उनकै योगदान सम्झिरहेका छन् ।






