Bahumat Khabar

ट्रम्पको तानाशाही कार्यशैलीविरुद्ध अमेरिकाभर विशाल प्रदर्शन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली ‘राजा-जस्तो र तानाशाही प्रवृत्तिको’ हुँदै गएको आरोप लगाउँदै अमेरिकाका प्रमुख शहरहरूमा शनिबार व्यापक प्रदर्शन भएको छ । ‘नो किङ्स’ नामक आन्दोलनअन्तर्गत राजधानी वाशिङ्टन डीसी, न्यूयोर्क, सिकागो, मिआमी र लस एन्जलससहितका सहरहरूमा हजारौँ नागरिक सडकमा उत्रिएका थिए ।

न्यूयोर्क सिटीको टाइम्स स्क्वायरदेखि वरिपरिका सडकहरूसम्म ‘डेमोक्रेसी नट मोनार्की’ (राजतन्त्र होइन, लोकतन्त्र) र ‘द कन्स्टिट्युसन इज नट अप्सनल’ (संविधान ऐच्छिक विषय होइन) लेखिएका प्लेकार्डसहित प्रदर्शनकारीहरूले राष्ट्रपति ट्रम्पको नीतिप्रति तीव्र असन्तुष्टि जनाए ।

प्रदर्शनलाई ध्यानमा राख्दै अधिकांश राज्यहरूमा राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड) तयारी अवस्थामा राखिएका थिए । यद्यपि प्रदर्शन शान्तिपूर्ण नै भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । न्यूयोर्क प्रहरी विभाग (एनवाईपीडी) का अनुसार करिब एक लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए ।

राष्ट्रपति ट्रम्पले जनवरीमा दोस्रो कार्यकाल सुरु गरेपछि कार्यकारी आदेशमार्फत् संघीय सरकारका केही निकाय विघटन गर्नुका साथै प्रमुख शहरहरूमा नेशनल गार्ड परिचालन गरेका थिए । साथै, आफ्ना राजनीतिक विरोधीहरूलाई कानूनी कारबाहीमा तान्न प्रशासनिक अधिकारीहरूलाई निर्देशन दिएको आरोप पनि उनले खेपिरहेका छन् ।

ट्रम्पले भने आफूमाथिका ‘तानाशाही’ र ‘फासिस्ट’ जस्ता आरोप खारेज गर्दै देश पुनर्निर्माणका लागि यस्तो कदम आवश्यक भएको दाबी गरेका छन् । तर उनका आलोचकहरूले यी कदमहरू असंवैधानिक र अमेरिकी लोकतन्त्रका लागि खतरनाक भएको चेतावनी दिएका छन् ।

प्रदर्शनमा सहभागी लेखक बेथ जास्लोफले भनिन्, “हामी फासिस्ट शासनतर्फ जाँदैछौँ भन्ने डरले म यहाँ आएको हुँ । यति धेरै नागरिक लोकतन्त्रका पक्षमा उत्रिनु आशाको संकेत हो ।”

६८ वर्षीय इटाली मूलका अमेरिकी मास्सिमो मास्कोलीले भने, “अमेरिका पनि इटालीले विगतमा लिएको गलत बाटोमा हिँड्दैछ ।”  उनले ट्रम्प प्रशासनको आप्रवासन नीति र स्वास्थ्य सेवा कटौतीबारे चिन्ता व्यक्त गरे ।

प्रदर्शनमा सहभागी सिनेटका अल्पमत नेता चक शुमरले भने, “अमेरिकामा कुनै तानाशाह हुँदैन । हामी ट्रम्पलाई लोकतन्त्र कमजोर पार्न दिँदैनौँ,”  भन्दै राष्ट्रपति ट्रम्पको कार्यशैलीमाथि कडा प्रहार गरे ।

यसैबीच, रोयटर्स–इप्सोसले गरेको पछिल्लो जनमत सर्वेक्षणअनुसार ट्रम्पको स्वीकृति दर हाल ४० प्रतिशतमा झरेको छ भने ५८ प्रतिशत अमेरिकी नागरिक उनीप्रति असन्तुष्ट रहेका छन् । दोस्रो कार्यकालको सुरुआतमा उनको समर्थन दर ४७ प्रतिशत थियो ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो प्रदर्शन अमेरिकी राजनीतिमा लोकतान्त्रिक मूल्य र संघीय शक्ति सन्तुलनबारे पुनः बहसको संकेत हो ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.