कञ्चनपुर । इजरायलमा मारिएका नेपाली नागरिक विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा गरिएको अन्त्येष्टिमा सशस्त्र प्रहरीले सलामी अर्पण गरी विपिनप्रति श्रद्धाञ्जलि व्यक्त गरेको थियो ।
इजरायलबाट विपिनको शव सोमबार दिउँसो काठमाडौं ल्याइएपछि नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी, र त्यहाँबाट भीमदत्त नगरपालिका–३, भाषीस्थित उनको घर पुर्याइएको थियो । शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारीहरू पनि घरसम्म पुगेका थिए ।
राति अबेर घरमा शव ल्याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारमा अन्तिम संस्कार सम्पन्न गरिएको हो । अन्त्येष्टिमा विपिनका परिवार, आफन्त, इष्टमित्र, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीको उपस्थितिले गाउँ शोकमग्न बनेको थियो ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका विपिन हमास लडाकुहरूको आक्रमणपछि बन्धक बनेका थिए । सन् २०२३ को अक्टोबर ७ मा गाजाबाट इजरायलमा प्रवेश गरेका हमास लडाकुहरूले आक्रमण गर्दा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई अपहरण गरी गाजामा लगिएको थियो ।
करिब दुई वर्षसम्म उनको अवस्थाबारे कुनै जानकारी थिएन । तर, हालै इजरायल–हमासबीच भएको युद्धविरामपछि बन्धकहरूको अवस्थाबारे विवरण सार्वजनिक गर्ने क्रममा गत २८ असोजमा इजरायली सेनाले विपिनको सन् २०२३ मै हत्या भएको पुष्टि गरेको सूचना नेपालस्थित दूतावासलाई दिएको थियो ।
नेपालको सरकारी समाचार एजेन्सी राससका अनुसार, इजरायलले पठाएको फरेन्सिक रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ ।
तिहारको बेला विपिनको शव घर आइपुग्दा जोशी परिवारमा असह्य शोक छाएको छ । उनका दाजु किशोर जोशीले भने, “बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसँग भेट हुने आशामा थिइन्, तर लक्ष्मीपूजाको दिन विपिनको शव आँगनमा आइपुग्दा घर पूरै शोकमा डुब्यो ।”
परिवारका अनुसार, बहिनी पुष्पाले दाजुको निधनको आधिकारिक पुष्टि भएपछि तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेकी थिइन् ।
२५ वर्षका विपिन जोशीको निधनले कञ्चनपुर र सारा सुदूरपश्चिम शोकमग्न बनेको छ ।





