काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलहरूसँग व्यापक छलफल गर्ने भएकी छन् । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन तयारीका विषयमा दलहरूबीच समन्वय गर्न प्रधानमन्त्रीले बैठक आयोजना गर्न लागेकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात वटा दलका शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ । बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, निर्वाचन सुरक्षा, कानुनी तयारी र राजनीतिक सहकार्यका विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ ।
हालसम्म निर्वाचनबारे राजनीतिक दलहरूसँग पर्याप्त परामर्श नगरेको भन्दै अन्तरिम सरकारले आलोचना खेप्दै आएको छ । सोही आलोचनाबीच प्रधानमन्त्री कार्कीले दलहरूसँग प्रत्यक्ष संवाद सुरु गर्न लागेको सचिवालयले जनाएको छ ।
गत भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’पछि बनेको कार्की नेतृत्वको अन्तरिम सरकारले छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने म्यान्डेट पाएको छ । यसैअनुसार सरकारले निर्वाचन तयारीलाई अन्तिम चरणमा पुर्याउने उद्देश्यसहित राजनीतिक दलहरूसँग सहकार्य र सहमतिको वातावरण निर्माण गर्ने प्रयास थालेको जनाएको छ ।




