– प्रेम प्रकाश वली
नेपालका कतिपय कम्युनिस्ट पार्टीहरूले अहिले पनि नयाँ जनवादी क्रान्तिको कार्यदिशा अपनाउने गरेका छन् । नयाँ जनवाद कि वैज्ञानिक समाजवाद भन्ने विषय अहिले गम्भीर बहसको विषय बनेको छ। पुँजीवादी जनवादी क्रान्ति भएका युरोपेली र अमेरिकन देशहरूमा उही शताब्दीमै राष्ट्रिय मुक्ति आन्दोलन सम्पन्न भइसकेको थियो, जसको परिणाम त्यहाँ नयाँ जनवादी क्रान्तिको आवश्यकता थिएन । फलस्वरूप रुस लगायतका युरोपेली देशहरूमा समाजवादी क्रान्ति नै क्रान्तिको कार्यदिशा हुने गरेको थियो ।
तत्काल चीन, भारत लगायतका देशहरूमा उपनिवेशवादको अन्त्यसँगै विश्वका सबै देशहरूमा राष्ट्रिय मुक्ति आन्दोलनहरू प्राप्त भएका छन् । वित्तीय लगायत ऋण–अनुदानको प्रलोभनमा दोस्रो विश्वयुद्धपछिका राष्ट्रहरूमाथि विभिन्न संघ, सन्धि, सम्झौता गर्दै त्यहाँका प्राकृतिक स्रोत, कच्चा पदार्थ कब्जा गर्ने साम्राज्यवादी व्यवस्थाको उदयले तेस्रो विश्वका देशहरूमा त्यहाँका शासकहरूको माध्यमबाट जनतामाथि उत्पीडन गरिँदै आएको छ । साम्राज्यवादी बजार र कच्चा पदार्थमा पहुँचका निम्ति गरिने पुँजीवादी विकास र त्यो विकासको असमान चरित्रले एक्काइसौँ शताब्दीमा ती देशहरूमा नयाँ जनवादको भन्दा वैज्ञानिक समाजवादी क्रान्तिको माग गरेको छ ।
जसको कारण एक्काइसौँ शताब्दीमा कुनै पनि मुलुकमा नयाँ जनवादको आवश्यकता र औचित्य समाप्त भएको छ । बीसौँ शताब्दीमा नयाँ जनवादी क्रान्तिको सम्बन्ध साम्राज्यवादी उपनिवेशको अन्त्य गरी राष्ट्रिय स्वतन्त्रताको प्राप्ति र सामन्तवादी कुनै तन्त्रको अन्त्य गरी जनताको सत्ताको प्राप्तिसँग सम्बन्धित थियो । जुनसुकै उत्पादन सम्बन्धमा रहेको भए पनि उपनिवेशका विरुद्ध राष्ट्रिय मुक्ति युद्ध आवश्यक नभएका देशहरूमा वैज्ञानिक समाजवादी क्रान्ति नै क्रान्तिको कार्यभार हुन्छ ।
यो कुरा निश्चित छ कि समाजवादी क्रान्तिपछि पुँजीवादले पूरा गर्नुपर्ने राजनीतिक–आर्थिक कार्यभार, जो नयाँ जनवादी क्रान्तिकै कार्यभार हो, समाजवादी क्रान्तिले पूरा गर्नुपर्छ ।
नेपालका र विश्वका कतिपय कम्युनिस्ट पार्टीहरूले नयाँ जनवाद र वैज्ञानिक समाजवादका बीचमा ‘ग्रेटवाल’ (चिनियाँ प्रखाल) खडा गर्दै आएका छन् । यिनीहरूले नयाँ जनवादलाई एउटा छुट्टै चरणको रूपमा लिने गरेका छन् । नयाँ जनवादी क्रान्तिपछि आर्थिक सहकारीकरण, सामूहिकीकरण र समाजवादीकरणको प्रक्रियाबाट उत्पादनमा वृद्धि, उत्पादन शक्तिमा विकास, र ‘क्षमता अनुसारको काम र काम अनुसारको दाम’ दिन सक्ने अवस्था भएपछि मात्रै समाजवादी क्रान्ति हुने बताउँदै आएका छन् ।
नेपालका कतिपय कम्युनिस्ट नेताहरूको विचारमा समाजवादी व्यवस्था त्यस्तो अवस्थामा हुन्छ जहाँ पूँजीको विकास नभएको हुन्छ, र काम अनुसारको दाम दिन नसक्ने हो भने सहज रूपमा सबैका लागि स्वीकार्य नहुने हो । त्यसकारण समाजवादी व्यवस्था कहीँ पनि आउन सक्दैन भन्ने तर्क गर्दै यतिबेला नयाँ जनवादी क्रान्ति नै क्रान्तिको कार्यभार हुने गर्छ ।
यस प्रकारका तर्क र विचारहरूमा मतवाद, अज्ञानवाद, अनुभववाद, आदर्शवाद र अन्ततः विसर्जनवाद देखापर्छ । त्यसकारण सुधारवादी, संशोधनवादी रुझानबाट मुक्त भएर ठोस परिस्थिति र ठोस विश्लेषण गर्नु नै द्वन्द्ववाद, मार्क्सवाद, लेनिनवाद र माओवाद हुन्छ । यसरी विश्लेषण गर्दा नेपालमा हुने क्रान्तिको चरित्र नयाँ जनवाद होइन, वैज्ञानिक समाजवाद हुन्छ भन्ने स्पष्ट हुन्छ ।
नेपालमा किन वैज्ञानिक समाजवादी क्रान्तिको कार्यभार सही हुन्छ ?
प्रथम, नेपालको अर्ध–सामाजिक अवस्था बदलिएको छ र क्रान्तिका लागि आवश्यक जनशक्ति, मनोविज्ञान, सांस्कृतिक र उत्पादन सम्बन्ध नयाँ जनवाद अनुकूल छैन ।
दोस्रो, चीनको विशिष्ट ऐतिहासिक कालखण्डमा राष्ट्रिय मुक्ति युद्ध र नयाँ जनवाद साथसाथै चल्ने संघर्षका प्रणालीहरू थिए । त्यो यस कारणले सम्भव भएको थियो कि चीनको विशाल ग्रामीण क्षेत्रमा युद्ध सरदारहरूको नियन्त्रण थियो र कतिपय सहरी क्षेत्रहरूमा साम्राज्यवादको प्रत्यक्ष उपनिवेश थियो । अहिलेको युगमा त्यस्तो स्थिति संसारका कुनै पनि देशमा छैन ।
तेस्राे, दलाल पुँजीवादको विकास भएको र देशमा राष्ट्रिय पुँजीपति वर्ग नरहेको कारण क्रान्तिकारीहरूको संयुक्त मोर्चा निर्माण गर्न वर्गीय रूपमा राष्ट्रिय पुँजीपति वर्ग र राष्ट्रिय पुँजीको विकास गर्ने कार्य असम्भव भएको छ ।
चौथो, देशको उत्पादन सम्बन्ध पुँजीवादी प्रणालीमा रहेको कारण त्यसको आवश्यकतालाई केवल वैज्ञानिक समाजवादी क्रान्तिले मात्रै सम्बोधन गर्न सक्छ ।
पाँचौँ, नेपाल अर्ध–उपनिवेशिक अवस्थाबाट नव–उपनिवेशिक पुँजीवादी अवस्थातर्फ प्रवेश गरिसकेको छ । राष्ट्रिय मुक्ति क्रान्तिको चरण समाप्त भएको छ । आन्तरिक राष्ट्रियताको स्वतन्त्रता समाजवादी क्रान्तिले पूरा गर्नेछ । सामन्तवादी भूस्वामित्व समाप्त भइसकेको छ । भूमिमाथिको स्वामित्व निर्धारण गर्ने प्रणाली समाप्त भइसकेको छ र निजी सम्पत्तिको रूपमा जमिनको स्वामित्व कायम गरी मुनाफाका लागि खरिद–बिक्री गर्ने पुँजीवादी लालपुर्जा प्रणालीको प्रयोग हुँदै आएको छ । जमिनमाथिको पुँजीवादी स्वामित्व भए पनि कृषि उत्पादनमा आधारित जनसहभागिता न्यून हुँदै गएको छ ।
छैठौँ, नेपालको राजनीतिक–आर्थिक जीवनको मूल्यगति पूँजीवादी प्रकारको छ । औद्योगिक पुँजीवादको विकास नभए पनि औद्योगिक क्षेत्रमा काम गर्न वैदेशिक रोजगारीका कारण मध्यम वर्गको विकास भएको छ ।
सातौँ, अहिलेको साम्राज्यवादी पुँजीको चरित्र भूमण्डलीकृत नवउदारवादी नियन्त्रित वित्तीय पुँजीवाद भएकोले, त्यसले अविकसित देशका उद्योग र परम्परागत कृषि प्रणालीलाई निरुत्साहित बनाएको छ । नियन्त्रित साम्राज्यवादी वित्तीय पुँजी विकासका नाममा हरेक देशका सरकार र घरघरमा प्रवेश गरेको छ । त्यसले पैदा गरेको मध्यम वर्ग सर्वहारा चरित्रका संघर्षशील मजदुरका रूपमा विकसित भएको छ । साम्राज्यवादको सिधा उपनिवेश नभई वित्तीय पुँजी लगानीमार्फत नव–उपनिवेशिक देशमा उत्पीडन थोपर्ने कारण राष्ट्रिय युद्ध विदेशी साम्राज्यवादसँग नभई उताका दलालहरूसँग लड्नुपर्ने अवस्था सिर्जना भएको छ ।
आठौँ, नेपालको उत्पादन सम्बन्धमा विपुल परिवर्तन आएको छ र देशभित्र गाउँ र सहरबीचको दूरी कमजोर हुँदै गएको छ ।
नवौँ, देशको अर्थतन्त्र, वित्तीय कारोबार, शिक्षा र स्वास्थ्यमाथिको नियन्त्रण मुठीभर माफिया दलाल पुँजीपतिहरूको हातमा केन्द्रित हुन पुगेको छ । यसले दलाल पुँजीवाद र जनताको बीचको अन्तरविरोधलाई प्रधान बनाएको छ । राष्ट्रिय पुँजीको पवित्र आत्मनिर्भरता समाप्त भइसकेको छ र त्यो अन्तर्राष्ट्रिय अन्तरनिर्भरतामा विकास भइसकेको छ ।
त्यसैले अब नेपालमा हुने क्रान्ति वैज्ञानिक समाजवादी क्रान्ति हुन्छ । यी आधारहरूले नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिको माग गरेका छन् ।
दशौँ, नेपालमा पैदा भएको प्रधान अन्तरविरोध उत्पीडित नेपाली जनता र दलाल तथा नोकरशाही पुँजीपति वर्गबीचको हो । जुन अन्तरविरोध समाधान गर्न केवल वैज्ञानिक समाजवादी क्रान्तिको कार्यभारले मात्रै सम्भव हुनेछ ।
धन्यवाद !
 
				 
															




