जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका–३ छड्की टोलमा एकै परिवारमाथि सामूहिक आक्रमण भएको घटनामा पीडित परिवारले प्रहरीले राजनीतिक दबाबमा अभियुक्तलाई उम्काएको आरोप लगाएका छन् ।
कात्तिक २ गते बेलुका करिब १५–२० जनाको समूह घरमै प्रवेश गरी खुकुरी, रड, भाटा लगायतका हतियारले आक्रमण गर्दा एकै परिवारका चार जना घाइते भएका हुन् । घाइतेहरूमा ६० वर्षीय शिवनन्दन यादव, उनकी पत्नी दुर्गी देवी यादव (५७), छोरा जमाहिर यादव (४२) र बुहारी रिता यादव (३७) रहेका छन् । घाइतेमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीयवासीका अनुसार केही दिनअघि जीतवाहन मेलामा दुई किशोरबीच विवाद भएको थियो । सोही विवादलाई लिएर वादविवाद बढ्दै गएपछि आक्रमणको घटनासम्म पुगेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीका अनुसार मेलाको झडपपछि दुबैतर्फबाट कुटपिट भएको र त्यसपछि एक पक्षले घरमै पुगेर हमला गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीले घटनामा संलग्नताको आरोपमा मिर्चैया–३ का पूर्व–वडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव, जगदीश धुर्झार यादवलगायत पाँचजनालाई नियन्त्रणमा लिएको थियो । तर, अनुसन्धानपछि किशोर, हरिकुशियैत र जगदीशलाई छोडिएको छ ।
डिएसपी पुरीले भने, “पक्राउ परेकामध्ये अन्य दुईजनाको बयान र प्रमाणका आधारमा छाडिएका व्यक्तिहरू घटनामा प्रत्यक्ष संलग्न नदेखिएकाले तारेखमा छोडिएका हुन् । अनुसन्धान अझै जारी छ ।”
तर पीडित शिवनन्दन यादवले भने प्रहरीमाथि राजनीतिक प्रभावमा दोषीलाई बचाउने प्रयास भएको आरोप लगाए । उनका अनुसार प्रहरी अधिकारीहरूले जाहेरी दर्ता गर्दा संलग्नको नाम हटाउन दबाब दिएका छन् ।
“घटनामा संलग्न दोषीलाई प्रहरीले छाडेको छ । जाहेरीमा उनीहरूको नाम हटाएर ल्याए मात्र दर्ता हुन्छ भनेर भनिरहेका छन् । नाम हटाएपछि हामी कसरी न्याय पाउँछौँ ?” उनले प्रश्न गरे ।
प्रहरीले भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको र प्रमाणका आधारमा कानूनी कारबाही अघि बढाइने जनाएको छ ।





