Bahumat Khabar

झलनाथ खनालको असहमति: “पार्टी एकता होइन, पार्टी पुनर्गठन र सुदृढीकरण नै प्राथमिकता”

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग अघि बढाइएको पार्टी एकता पहलप्रति असहमति जनाएका छन् । सञ्चारमाध्यममा आफू पनि उक्त प्रक्रियामा सहमत भएको समाचार सार्वजनिक भएपछि उनले आफ्नो सचिवालयमार्फत त्यसको खण्डन गरेका हुन् ।

खनालका प्रेस सहयोगी मिलन उपाध्यायका अनुसार नेता खनाल पार्टी एकीकरण होइन, संगठनको पुनर्गठन र सुदृढीकरणकै पक्षमा अडिग छन् । उपाध्यायले भने, “कमरेड खनालको स्पष्ट धारणा छ — नेकपा (एकीकृत समाजवादी) लाई नै पुनर्गठन र सुदृढीकरण गरेर समाजवादको यात्रामा अघि बढाउनुपर्छ भन्ने विश्वासमा उहाँ स्थिर रहनुभएको छ ।”

हाल खनाल आफ्नी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको दिल्लीमा रहेका छन् । दिल्लीमै रहँदै उनले असोज २६ गते पनि विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणभन्दा संगठन सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

तर, शुक्रबार माओवादी केन्द्रसँग एकताको सहमति टुंगिएको र खनाल पनि सहमत भएको समाचार आएपछि उनले पुनः असहमति प्रकट गरेका हुन् । यसबीच, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको केन्द्रीय कमिटी बैठक कात्तिक १२ गतेका लागि बोलाएका छन् । बैठकमा माओवादी केन्द्रसँगको एकता पहल, पार्टीभित्रका असहमतिहरू र संगठन सुदृढीकरणका उपायबारे विस्तृत छलफल हुने जनाइएको छ ।

पार्टीभित्र खनाल पक्षले संगठनलाई बलियो बनाउँदै नयाँ नीतिगत दिशातर्फ अघि बढ्नुपर्ने धारणा अघि सारेको छ भने अध्यक्ष नेपाल पक्षले माओवादी केन्द्रसँग एकता वा सहकार्यका विकल्पहरू खुला राख्ने तयारी गरिरहेको बताइन्छ । पछिल्ला महिनाहरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच वाम एकता र सहकार्यका विषयमा निरन्तर वार्ता हुँदै आएको थियो ।

तर, नेता खनाल भने उक्त प्रक्रियाप्रति असहमति जनाउँदै आएका छन् । उनका अनुसार, “वाम एकता होइन, समाजवादी पुनर्गठन नै अहिलेको आवश्यकता हो।”

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.