काठमाडौँ । मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल तथा चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।
करिब दुई घण्टा चलेको बैठकमा देशभरको वर्तमान सुरक्षा अवस्थाको समीक्षा गरी सम्भावित चुनौती र जोखिमबारे विस्तृत छलफल गरिएको थियो । बैठकमा सुरक्षा प्रमुखहरूले आ–आफ्नो निकायको तर्फबाट प्रस्तुत गरेका विश्लेषणका आधारमा आगामी दिनमा अपनाइने रणनीतिबारे सुझाव दिएका थिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले मुलुकको सुरक्षा अवस्थाबारे सूक्ष्म अध्ययन गरिएको जानकारी दिए । उनले भने, “विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन्, तर अवस्था अस्थिर बनाउने गतिविधि सह्य हुने छैन ।”
उनका अनुसार राजनीतिक मुद्दाको समाधानका लागि सरकार संवादमार्फत अघि बढ्ने पक्षमा छ । “सम्बद्ध पक्षहरूसँग वार्ता गरेर सहमतिको बाटो खोज्नेछौं,” उनले स्पष्ट पारे ।
प्रधानमन्त्री कार्कीले पनि हालको परिस्थितिलाई संवेदनशील रूपमा लिएर सबै निकायहरूलाई सतर्क र जिम्मेवार रहन निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।
बैठकमा देशभर सुरक्षा संयन्त्रलाई चुस्त–दुरुस्त बनाउन, जोखिमपूर्ण क्षेत्रहरूमा निगरानी बढाउन र नागरिकको सुरक्षालाई प्राथमिकता दिन निर्णय भएको बताइएको छ ।




