Bahumat Khabar

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) १ नं. ब्यूराेमा ध्रुवीकरण कार्यक्रम: गोपी भण्डारी र तुलसी रावतलगायतका नेताहरू पार्टी प्रवेश

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) १ नं. ब्यूरोले आइतबार सुनसरी जिल्लाकाे खनारमा आयोजना गरेको एक ध्रुवीकरण कार्यक्रममा विभिन्न पार्टी र संगठनका क्रान्तिकारी नेताहरू औपचारिक रूपमा नेकपा (बहुमत) मा प्रवेश गरेका छन् ।

कार्यक्रमका अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा मजदुर संगठनका जिल्ला अध्यक्ष कमरेड गोपी भण्डारी, नेकपा (एमाले) का सक्रिय सदस्य कमरेड तुलसी रावतसहितका नेताहरू पार्टी प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेकपा (बहुमत) का पोलिटब्यूरो सदस्य तथा १ नं. ब्यूरो इन्चार्ज कमरेड धमिल, पार्टीका पोलिटब्यूरो सदस्य तथा झापा जिल्ला सेक्रेटरी कमरेड नरेशलगायत नेताहरूले अविर लगाई पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ब्यूरो इन्चार्ज कमरेड धमिलले नयाँ प्रवेश गरेका सदस्यहरूलाई स्वागत गर्दै भने, “आजको कार्यक्रमले हामीलाई एक दृढ र निर्बाध एकता प्रदान गरेको छ । अब हामीले यस एकतालाई व्यवहारमा रूपान्तरण गर्नुपर्छ ।”

उनका अनुसार, यो ध्रुवीकरण कार्यक्रम पार्टीका लागि केवल संगठनात्मक सुदृढीकरण मात्र नभई समाजका विभिन्न क्षेत्रका क्रान्तिकारी शक्तिहरूबीच एकताको महत्त्वपूर्ण प्रयास पनि हो ।

त्यस्तै, नयाँ प्रवेश गरेका कमरेड गोपी भण्डारीले भने, “हामी छरिएर हाेइन, एक भएर अघि बढ्नुपर्ने आवश्यकता झनै बढेकाे छ । हाम्राे संघर्ष र एकता नै हाम्राे बलियाे पक्ष हाे ।” उनले सबै सदस्यहरूलाई पार्टीको संगठन मजबुत बनाउन समर्पित रहन आग्रह गरे ।

कार्यक्रममा सहभागी नेताहरूले कमरेड तुलसी रावतको सहभागितालाई पनि सकारात्मक रूपमा लिएर स्वागत गरेका थिए । एक नेताका अनुसार, “यहाँको वातावरणले निश्चित रूपमा नयाँ शक्ति र उत्साह थपेको छ । अब हामी सबै मिलेर अगाडि बढ्नेछौं ।”

कार्यक्रमको सञ्चालन पार्टी ब्यूरो सदस्य कमरेड सिजर्नले गरेका थिए भने अध्यक्षता पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सेक्रेटरी कमरेड जटिलले गरेका थिए ।

यो कार्यक्रमले प्रदेश नं. १ मा नेकपा (बहुमत) को संगठनात्मक एकता र प्रभावलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.