काठमाडौं । साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको विरुद्ध आवाज उठाउँदै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सहित ११ वटा कम्युनिस्ट पार्टी र संगठनहरू सम्मिलित संयुक्त संघर्ष समिति नेपालले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा संयुक्त विरोध प्रदर्शन सम्पन्न गरेको छ । प्रतिकूल मौसमका बाबजुद पनि उल्लेख्य सहभागिता रहेको सो कार्यक्रम “साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको प्रतिरोध गरौं ! राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एकजुट होऔं !” भन्ने नारासहित सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्देश्य नेपालमाथि बढ्दै गएको साम्राज्यवादी हस्तक्षेप, विस्तारवादी दबाब र राजनीतिक दलाल प्रवृत्तिको विरोध गर्दै राष्ट्रिय स्वाधीनता र अग्रगामी राजनीतिक निकासका लागि सबै देशभक्त, वामपन्थी र प्रगतिशील शक्तिहरूलाई एकजुट हुन आह्वान गर्नु रहेको संघर्ष समितिले जनाएको छ ।
कार्यक्रममा नेकपा (बहुमत) का नेता बद्री चौलागाईले संसदीय व्यवस्थाले राष्ट्रलाई दलाल र परनिर्भर बनाएको भन्दै त्यसको अन्त्य गरी राष्ट्रिय स्वाधीन सरकार गठन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सन्तबहादुर नेपालीले साम्राज्यवादी शक्तिहरू नेपालभित्र हावी भएकाे उल्लेख गर्दै, “सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार साम्राज्यवाद र विस्तारवादको मिलेमतोमा बनेको सरकार हो,” भन्नुभयो । उहाँले नेपाललाई विदेशीहरूले रणमैदान बनाउन खोजेको भन्दै देशलाई त्यो अवस्थाबाट जोगाउन क्रान्तिकारी शक्तिहरू संघर्षमैदानमा उत्रिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यसैगरी नेकपाका संयोजक लोकनारायण सुवेदीले अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार दलाल पुँजीवादले नेपाली दलाल नेताहरूमार्फत देश सञ्चालन गर्न खोजिरहेको आरोप लगाउँदै देशबचाउ आन्दोलनको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा रुपा सुनार, इन्दिरा अधिकारी, हरिकृष्ण गजुरेल, सी.बी. सिंह, अशोक सुवेदी लगायत नेताहरूले समेत मन्तव्य राख्दै राष्ट्रिय स्वाधीनता र अग्रगामी निकासका लागि सबै वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरू एक मोर्चामा उभिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सञ्चालन नेकपाका नेता नारायण शर्माले गर्नुभएको थियो ।
संयुक्त संघर्ष समितिले देशभरका राजनीतिक दल, जनसंगठन, बुद्धिजीवी र आम नागरिकहरूलाई साम्राज्यवाद र विस्तारवादविरुद्धको स्वाधीनताको आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन अपिल गरेको छ ।




