काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र माओवादी केन्द्रसँगको पार्टी एकता विषयलाई लिएर तीव्र मतभेद सतहमा आएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पक्षले माओवादी केन्द्रसँगको औपचारिक एकता प्रक्रिया तीव्र पार्दै निर्णायक सहमति टुंग्याउने तयारी गरेसँगै, झलनाथ खनाल नेतृत्वको असन्तुष्ट समूहले भने छुट्टै संगठनात्मक मार्ग रोजेको छ ।
शुक्रबार सम्पन्न केन्द्रीय बैठकबाट माओवादी केन्द्रसँग एकता प्रस्ताव अनुमोदन गरेपछि अध्यक्ष माधव नेपाल पक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँग निर्णायक भेटवार्तामा जुट्ने तयारीमा छ । स्रोतका अनुसार भेटमा एकताको प्रारूप, लिखत र संगठनात्मक ढाँचा टुंगो लगाइनेछ ।
तर, त्यही समयमा झलनाथ खनाल पक्षले एकता प्रस्तावलाई पूर्ण अस्वीकार गर्दै पार्टी पुनर्गठनतर्फ कदम बढाएको छ । असन्तुष्ट समूहले सुकेधारास्थित मिराकल पार्टी भेन्युमा छुट्टै भेला बोलाएको छ । खनाल पक्षका अनुसार करिब डेढ सय केन्द्रीय सदस्य सहभागी हुने उक्त भेलामा माओवादी केन्द्रसँगको एकता प्रस्ताव अस्वीकार गर्दै, नयाँ नेतृत्व र पुनर्गठनबारे गम्भीर छलफल हुने तयारी छ ।
प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले बैठक ठूलो भेला नभई सीमित नेताहरूबीचको रणनीतिक छलफल हुने बताए । उनले भने, “पहिलो प्राथमिकता माओवादीमा जाने साथीहरूलाई रोक्नु हो । त्यसपछि हाम्रो पक्षका नेताहरूले एक स्पष्ट राजनीतिक स्टेटमेन्ट सार्वजनिक गर्ने तयारी गरेका छन् ।”
अर्यालले शुक्रबारको बैठकपछि माधव नेपाल पक्षसँगको “राजनीतिक सम्बन्ध टुंगिएको” घोषणा गर्दै भने, “अब हामी पार्टी पुनर्गठन र हाम्रो पक्षका साथीलाई जोगाउने तयारीमा छौं । निकट भविष्यमा राष्ट्रिय भेला बोलाउने प्रक्रिया अघि बढ्छ ।”
यसैबीच, एमालेको सचिवालय बैठक पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूलाई “मूल पार्टीमा फर्किन” आह्वान गरेपछि त्यसबारे पनि चर्चा हुने अपेक्षा गरिएको छ । अर्यालले ओलीको प्रस्तावबारे प्रतिक्रिया दिँदै भने, “अब ओलीले हावादारी कुरा गरेर हुँदैन; यदि उहाँको आह्वान साँच्चै कम्युनिस्ट आन्दोलनकै हितमा हो भने परिपक्व ढंगले प्रस्तुत हुनुपर्छ ।”
खनाल पक्षभित्र पनि नेतृत्वको स्वरूप र पुस्तान्तरणबारे मतभेद देखिएको छ । केही नेताहरूले झलनाथ खनाललाई “अभिभावक” भूमिकामा राखेर नयाँ पुस्तालाई कार्यकारी जिम्मेवारी दिने सुझाव अघि सारेका छन् । एक नेताले भने, “हामीले एकताको विरोध गरेका होइनौं, तर पुनर्गठन र पुस्तान्तरणबिना एकता गर्नु आत्मघात हुनेछ भन्ने हाम्रो धारणा हो ।”
त्यसैबेला, माधव नेपाल पक्ष भने माओवादी केन्द्रसँगको एकता अब अपरिहार्य भएको ठहरमा पुगेको छ । नेपाल पक्षका अनुसार, शुक्रबार पारित राजनीतिक प्रतिवेदनको भावनाअनुसार लिखत रूपमा टुंग्याएर एकता घोषणातर्फ अघि बढ्ने तयारी भइरहेको छ ।





