काठमाडौं । तान्जानियामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनपछि भड्किएको हिंसाले देशलाई गम्भीर राजनीतिक संकटतर्फ धकेलेको छ । पछिल्ला केही दिनयता राजधानी दार एस सलाम लगायतका सहरहरूमा प्रदर्शन र सुरक्षा निकायबीच भएको भीषण झडपमा ५ सयदेखि ७ सयसम्म नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ब्रिटिश प्रसारण संस्था बीबीसी र युगान्डाको डेली मोनिटरका अनुसार, प्रमुख विपक्षी दल चादेमा (CHADEMA) का प्रवक्ताले करिब ७ सय जनाको मृत्यु भएको दाबी गरेका छन् । यद्यपि, संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालय (OHCHR) ले आधिकारिक रूपमा “कम्तिमा १० जनाको मृत्यु पुष्टि भएको” जनाएको छ ।
निर्वाचन परिणामप्रति असन्तुष्ट प्रदर्शनकारीहरूले “धाँधलीपूर्ण निर्वाचन” को आरोप लगाउँदै सडकमा उत्रिएपछि देशभर तनाव फैलिएको हो । उनीहरूले सत्तारूढ पार्टी चामा चा मापिनदुजी (CCM) र निर्वाचन आयोगमाथि मतगणनामा हेरफेर गरेको आरोप लगाएका छन् । विपक्षी नेताहरूलाई अन्यायपूर्ण रूपमा जेल पठाइएको र उम्मेदवार बन्न “प्राविधिक कारण” देखाइ रोकिएको विषयले झनै आक्रोश बढाएको बताइएको छ ।

यसबीच, सत्तारूढ दलकी उम्मेदवार राष्ट्रपति सामिया सुलुहु हसन मतगणनामा अग्रता लिइरहेकी छिन् । विपक्षी दलले भने यो परिणाम अस्वीकार गर्दै पुनः मतदानको माग गरेको छ ।
सरकारले राजधानी लगायत संवेदनशील क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको छ र रातको समयमा इन्टरनेट सेवा बन्द गरेको छ। स्थानीय अस्पतालहरूमा घाइतेहरूको उपचारका लागि भीड बढिरहेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय समुदायले तान्जानियाको अवस्थाप्रति गहिरो चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघ, अफ्रिकी संघ (AU) र युरोपेली संघ (EU) ले हिंसा रोक्न र निष्पक्ष अनुसन्धान गर्न आह्वान गरेका छन् । यसैबीच, अमेरिकी विदेश विभागले विज्ञप्ति जारी गर्दै भनेको छ “तान्जािनयाकाे स्थायित्व र लाेकतान्त्रिक प्रकृयाकाे विश्वसनीयता सुनिश्चित गर्न सबै पक्ष संयमित हुनुपर्छ ।”
राजनीतिक विश्लेषकहरूले यो अवस्थालाई तान्जानियाको पछिल्लो दशकको “सबैभन्दा गम्भीर राजनीतिक संकट” भनेका छन् । उनीहरूका अनुसार, विशेषगरी युवापुस्ताको बढ्दो असन्तुष्टि र सरकारप्रतिको अविश्वास दीर्घकालीन अस्थिरतामा परिणत हुन सक्ने खतरा छ ।
तान्जानियाको राजधानीका सडकहरूमा अहिले पनि सेनाको गस्ती जारी छ, जबकि हजारौं नागरिकले “स्वतन्त्रता र निष्पक्षता” को माग गर्दै विरोध प्रदर्शन जारी राखेका छन् ।





