काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराँतीले पार्टी रूपान्तरणका लागि पाँच बुँदे ठोस र लिखित प्रतिबद्धताको माग गरेका छन् । उनले स्पष्ट रूपमा भनेका छन्— यी बुँदाहरूमा सहमति भए मात्र आफू पार्टीको आगामी यात्रामा सँगै हिँड्न सक्ने जनाएका छन् ।
फेसबुकमार्फत् सार्वजनिक गरेको आफ्नो प्रस्तावमा किराँतीले माओवादी पार्टीको रूपान्तरणलाई अब “विकल्प होइन, आवश्यकता” भन्दै नेतृत्व, संरचना र जिम्मेवारी वितरणमा आमूल परिवर्तनको आग्रह गरेका छन् ।
उनले प्रस्तुत गरेका पाँच बुँदा यसप्रकार छन् :
-
संरचना र अधिकार बाँडफाँड:
विधान संशोधन गरी नयाँ संरचना निर्माण र अधिकारको न्यायोचित बाँडफाँड गर्नुपर्ने माग । आवश्यक परे संरक्षकलाई पार्टी विघटन गरी अधिवेशन घोषणा गर्ने अधिकारसमेत दिनुपर्ने उनले उल्लेख गरेका छन् । -
अपूर्ण र अपवित्र एकता रोक्नुपर्ने:
भ्रष्टाचारसम्बन्धी मुद्दा छानबिन भइरहेको बेलामा ‘भावनाविपरीत’ भइरहेका एकता प्रयासलाई अपूर्ण र अपवित्र भन्दै तत्काल रोक्नुपर्ने उनको माग छ । -
पदाधिकारीमा रूपान्तरण:
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संरक्षक वा सर्वमान्य नेताको भूमिकामा राखी वर्तमान पदाधिकारी संरचना हटाई निर्देशक कमिटी गठन गर्नुपर्ने प्रस्ताव उनले गरेका छन् । -
केन्द्रीय राजनीतिक समिति गठन:
स्थायी समितिदेखि अग्रज नेतासम्म समेटिएको केन्द्रीय राजनीतिक समिति गठन गरी राष्ट्रिय महत्त्वका निर्णय तथा सांसद चयनका अधिकार सो समितिलाई दिनुपर्ने माग उनले अघि सारेका छन् । -
तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी:
तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिई उनीहरूले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्ने ‘पुलको भूमिका’ खेल्नुपर्नेमा किराँतीले जोड दिएका छन् ।
किराँतीका अनुसार, यी पाँचवटै बुँदा माओवादी केन्द्रको “रूपान्तरणको विकल्प” हुन् । उनले चेतावनीका साथ — “यी विषयमा लिखित प्रतिबद्धता बिना पार्टीको आगामी यात्रामा सहभागी हुन नसक्ने जनाएका छन् ।”






