काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका केही साना कम्युनिस्ट दल र समूहहरू पार्टी एकताको अन्तिम तयारीमा जुटेका छन् । सबै पक्षले आफ्ना-आफ्ना बैठकबाट एकता गर्ने निर्णय अनुमोदन गरिसकेका छन् । ठूला असहमतिबिना सब ठीक रह्यो भने, कात्तिक २० गते संयुक्त भेला गरेर नयाँ पार्टी ‘नेकपा समाजवादी’ नाममा एकता घोषणा गरिने तयारी छ ।
शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक र शनिबार बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक दुबैले पार्टी एकतालाई अपरिहार्य भन्दै शीघ्र घोषणा गर्ने निर्णय गरेका छन् । आइतबार दुवै पार्टीका सचिवालय बैठकहरू बसेर बाँकी रहेका प्राविधिक पक्ष मिलाउने गृहकार्य भइरहेको नेताहरूले बताएका छन् ।
एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसालका अनुसार एकीकृत पार्टीको घोषणापत्र र विधान तयार भइसकेको छ । भुसालले भने, “घोषणापत्र तयार भैसकेको छ, विधान पनि लगभग तयार छ । ती दुवै दस्ताबेज संयुक्त राष्ट्रिय सम्मेलनमार्फत् पारित गरिन्छ ।”
संयुक्त बैठकलाई नै राष्ट्रिय सम्मेलनको रूपमा परिणत गर्दै नयाँ नेतृत्व संरचना, केन्द्रीय समिति र संगठनात्मक रूपरेखा घोषणा गरिने तयारी गरिएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि यही दस्ताबेजहरू आधार बन्नेछन् ।
स्रोतका अनुसार एकीकृत पार्टीको घोषणापत्र तीन प्रमुख पक्षमा केन्द्रित छः
-
उद्देश्य र नीति – पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद ।
-
मार्गदर्शक सिद्धान्त र दृष्टिकोण – मार्क्सवाद-लेनिनवादलाई वैचारिक आधारका रूपमा अंगाल्ने ।
-
पार्टीको प्रतिबद्धता – २१ बुँदे प्रतिवद्धतामा राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, सुशासन, भ्रष्टाचार उन्मूलन, रोजगारी सृजनादेखि पारदर्शी शासनसम्मका प्रतिज्ञा समेटिएका छन् ।
घोषणापत्रले “जनवादी क्रान्तिका उपलब्धि र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवादको दिशामा आर्थिक-सामाजिक रूपान्तरण गर्ने” नीति लिएको बताइन्छ ।
महाधिवेशन सम्पन्न नभएसम्म केन्द्रदेखि स्थानीय तहसम्म संयोजक र सहसंयोजक रहने गरी संयुक्त संरचना बनाइनेछ । माओवादी नेता हरिबोल गजुरेलका अनुसार, “सैद्धान्तिक विषयमा सहमति भइसकेको छ । ६०/४० को संरचनागत समायोजनको गृहकार्य भइरहेको छ, तर अन्य दलहरू पनि सहभागी भएकाले अनुपातमा सानो हेरफेर हुन सक्छ ।”
तर, समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले भने प्रतिशत नतोकिएको खुलासा गरे ।
एकता हुने दलहरूमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै महेन्द्र राय यादव नेतृत्वको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट विद्रोह गरेका चिरन सी समूह समेत एकीकृत पार्टीमा समावेश हुने तयारीमा छन् ।
एकीकृत पार्टीले कात्तिक २१ गते निर्वाचन आयोगमा दर्ता आवेदन दिने तयारी गरेको छ । पार्टीको नाम “नेकपा समाजवादी” प्रस्तावित छ भने चुनाव चिह्नका लागि तारा, कलम र दियो मध्ये अन्तिम छलफल चलिरहेको छ ।
यद्यपि एकीकृत समाजवादीभित्र झलनाथ खनाल र महासचिव घनश्याम भुसालले वर्तमान मोडलप्रति असहमति जनाउँदै पार्टी पुनर्गठन र विचार–संवादको आवश्यकता औंल्याएका छन् ।
त्यस्तै, माओवादी केन्द्रका जनार्दन शर्माले पुनर्गठनबिनाको हतारो एकता “ऐतिहासिक गल्ती” हुने बताएका छन् । उनका शब्दमा, “विचार, सिद्धान्त र कार्यदिशाको स्पष्ट आधारमा पुनर्गठन नगरी गरिएको एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, बरु क्रान्तिकारी धार कमजोर पार्नेछ ।”





