Bahumat Khabar

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीच पार्टी एकता घोषणाको अन्तिम तयारी, ‘नेकपा समाजवादी’ नाम प्रस्तावित

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका केही साना कम्युनिस्ट दल र समूहहरू पार्टी एकताको अन्तिम तयारीमा जुटेका छन् । सबै पक्षले आफ्ना-आफ्ना बैठकबाट एकता गर्ने निर्णय अनुमोदन गरिसकेका छन् । ठूला असहमतिबिना सब ठीक रह्यो भने, कात्तिक २० गते संयुक्त भेला गरेर नयाँ पार्टी ‘नेकपा समाजवादी’ नाममा एकता घोषणा गरिने तयारी छ ।

शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक र शनिबार बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक दुबैले पार्टी एकतालाई अपरिहार्य भन्दै शीघ्र घोषणा गर्ने निर्णय गरेका छन् । आइतबार दुवै पार्टीका सचिवालय बैठकहरू बसेर बाँकी रहेका प्राविधिक पक्ष मिलाउने गृहकार्य भइरहेको नेताहरूले बताएका छन् ।

एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसालका अनुसार एकीकृत पार्टीको घोषणापत्र र विधान तयार भइसकेको छ । भुसालले भने, “घोषणापत्र तयार भैसकेको छ, विधान पनि लगभग तयार छ । ती दुवै दस्ताबेज संयुक्त राष्ट्रिय सम्मेलनमार्फत् पारित गरिन्छ ।”

संयुक्त बैठकलाई नै राष्ट्रिय सम्मेलनको रूपमा परिणत गर्दै नयाँ नेतृत्व संरचना, केन्द्रीय समिति र संगठनात्मक रूपरेखा घोषणा गरिने तयारी गरिएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि यही दस्ताबेजहरू आधार बन्नेछन् ।

स्रोतका अनुसार एकीकृत पार्टीको घोषणापत्र तीन प्रमुख पक्षमा केन्द्रित छः

  • उद्देश्य र नीति – पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद ।

  • मार्गदर्शक सिद्धान्त र दृष्टिकोण – मार्क्सवाद-लेनिनवादलाई वैचारिक आधारका रूपमा अंगाल्ने ।

  • पार्टीको प्रतिबद्धता – २१ बुँदे प्रतिवद्धतामा राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, सुशासन, भ्रष्टाचार उन्मूलन, रोजगारी सृजनादेखि पारदर्शी शासनसम्मका प्रतिज्ञा समेटिएका छन् ।

घोषणापत्रले “जनवादी क्रान्तिका उपलब्धि र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवादको दिशामा आर्थिक-सामाजिक रूपान्तरण गर्ने”  नीति लिएको बताइन्छ ।

महाधिवेशन सम्पन्न नभएसम्म केन्द्रदेखि स्थानीय तहसम्म संयोजक र सहसंयोजक रहने गरी संयुक्त संरचना बनाइनेछ । माओवादी नेता हरिबोल गजुरेलका अनुसार, “सैद्धान्तिक विषयमा सहमति भइसकेको छ । ६०/४० को संरचनागत समायोजनको गृहकार्य भइरहेको छ, तर अन्य दलहरू पनि सहभागी भएकाले अनुपातमा सानो हेरफेर हुन सक्छ ।”

तर, समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले भने प्रतिशत नतोकिएको खुलासा गरे ।

एकता हुने दलहरूमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै महेन्द्र राय यादव नेतृत्वको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट विद्रोह गरेका चिरन सी समूह समेत एकीकृत पार्टीमा समावेश हुने तयारीमा छन् ।

एकीकृत पार्टीले कात्तिक २१ गते निर्वाचन आयोगमा दर्ता आवेदन दिने तयारी गरेको छ । पार्टीको नाम “नेकपा समाजवादी” प्रस्तावित छ भने चुनाव चिह्नका लागि तारा, कलम र दियो मध्ये अन्तिम छलफल चलिरहेको छ ।

यद्यपि एकीकृत समाजवादीभित्र झलनाथ खनाल र महासचिव घनश्याम भुसालले वर्तमान मोडलप्रति असहमति जनाउँदै पार्टी पुनर्गठन र विचार–संवादको आवश्यकता औंल्याएका छन् ।

त्यस्तै, माओवादी केन्द्रका जनार्दन शर्माले पुनर्गठनबिनाको हतारो एकता “ऐतिहासिक गल्ती” हुने बताएका छन् । उनका शब्दमा, “विचार, सिद्धान्त र कार्यदिशाको स्पष्ट आधारमा पुनर्गठन नगरी गरिएको एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, बरु क्रान्तिकारी धार कमजोर पार्नेछ ।”

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.