Bahumat Khabar

नेपाली कांग्रेसको आजको बैठक निर्णायक मोडमा, महाधिवेशन मिति टुंगो लाग्ने सम्भावना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । शुक्रबारका लागि तय गरिएको बैठक स्थगित भएपछि आज बस्न लागेको यो बैठकलाई पार्टीभित्रको हालको विवाद समाधान गर्ने निर्णायक अवसरका रूपमा हेरिएको छ ।

१५ औँ महाधिवेशनको मितिबारे लामो समयदेखि जारी मतभेदले कांग्रेसभित्र तनाबपूर्ण स्थिति सृजना भएको छ । शनिबार सानेपामा बसेको पदाधिकारी बैठकले समेत उक्त विषयमा सहमति जुटाउन नसकेपछि विवाद अझ चर्किएको थियो ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन पक्षबीच कार्यतालिका र प्रक्रियासम्बन्धी फरक प्रस्तावहरू राखिएका थिए । महामन्त्री शर्माले निर्वाचन महासमिति सदस्यहरूको चुनाव महाधिवेशनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा भोटिङमार्फत् निर्णय गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

आजको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सहमतिको वातावरण बनाउन दुई महामन्त्रीसहित शीर्ष नेताहरूको विशेष बैठक बोलाएका छन् । उक्त बैठक बिहान ९ बजे ललितपुरस्थित धोबीघाटमा बस्ने तय गरिएको पार्टी स्रोतले जनाएको छ ।

पार्टीभित्र महाधिवेशनको मिति, कार्यतालिका र आन्तरिक एकता जोगाउने रणनीतिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ । स्रोतहरूका अनुसार आजको बैठकबाट महाधिवेशनको मिति र प्रक्रिया सम्बन्धी अन्तिम निर्णय हुने सम्भावना बलियो बनेको छ ।

कांग्रेस नेताहरूका भनाइमा, “आजको बैठकले स्पष्ट दिशा तय नगरे पार्टीभित्र असन्तुष्टि थप गहिरिन सक्छ ।” त्यसैले आजको बैठकलाई आगामी राजनीतिक दिशा निर्धारण गर्ने ‘निर्णायक दिन’ का रूपमा हेरिएको छ ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.