Bahumat Khabar

चीन–रूस लगानी सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने संकल्प

बेइजिङ, नोभेम्बर २ (एजेन्सी) — चीन र रूसले आपसी लगानी सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउने दृढ प्रतिबद्धता जनाएका छन् । शनिबार बेइजिङमा सम्पन्न चीन–रूस लगानी सहकार्य समितिको १२ औँ बैठकमा दुबै देशका उच्च अधिकारीहरूले लगानी सम्बन्धलाई नयाँ चरणमा लैजाने साझा संकल्प व्यक्त गरे ।

बैठकको सह–अध्यक्षता चीनका उपप्रधानमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका राजनीतिक ब्यूरो स्थायी समितिका सदस्य डिङ स्युएक्सियाङ र रूसी पहिलो उपप्रधानमन्त्री डेनीस म्यान्टुरोभले संयुक्त रूपमा गरेका थिए ।

बैठकमा बोल्दै उपप्रधानमन्त्री डिङले गत वर्ष चीन–रूसबीचको लगानी सहकार्य उल्लेखनीय रूपमा अगाडि बढेको बताउँदै, त्यसलाई अझ गहिरो र दिगो बनाउन चार बुँदे प्रस्ताव प्रस्तुत गरे । ती प्रस्तावमा प्रमुख क्षेत्रहरूमा केन्द्रित लगानी परियोजना अघि बढाउने, दुवै देशबीच सञ्चार र समन्वय सुदृढ गर्ने, आपूर्ति–माग प्रणालीमा सुधार ल्याउने र व्यवसायिक वातावरण सुधार गरी लगानीकर्ताको आत्मविश्वास बढाउने विषय समावेश छन् ।

“राष्ट्रप्रमुखहरूको रणनीतिक निर्देशनअनुसार चीन रूससँग मिलेर लगानी सहकार्यको गुणस्तर र दक्षता निरन्तर बढाउन इच्छुक छ,” डिङले भने । “यसले नयाँ युगका लागि चीन–रूस व्यापक रणनीतिक साझेदारीलाई अझ समृद्ध बनाउनेछ र दुवै देशका जनताको साझा हितमा योगदान पुर्‍याउनेछ ।”

त्यसैगरी, रूसी उपप्रधानमन्त्री म्यान्टुरोभले पनि लगानी सहकार्य समितिको नेतृत्व र समन्वय भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए । उनले निष्पक्ष र पारदर्शी व्यवसायिक वातावरण विकास गर्न, प्रमुख लगानी परियोजनाहरूलाई क्रमिक रूपमा अघि बढाउन तथा नयाँ आर्थिक वृद्धि क्षेत्रहरू पहिचान गरी प्रवद्र्धन गर्न रूस तयार रहेको बताए ।

बैठकमा दुबै पक्षले ऊर्जा, पूर्वाधार, उद्योग, कृषि, र प्रविधि क्षेत्रका सहकार्य परियोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने सहमति जनाएका छन् । बैठकले चीन–रूस सम्बन्धलाई आर्थिक साझेदारीको नयाँ युगतर्फ उन्मुख गराउने बलियो सन्देश दिएको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.