काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वटा दलबीच पार्टी एकता गर्ने १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको छ । आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संयुक्त बैठकमा सो सहमति पत्रमा हस्ताक्षर भएको हो ।
माओवादी केन्द्रका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी), नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) गरी ८ वटा दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ ।
सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव चिरन पुन, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा (साम्यवादी) का अध्यक्ष प्रेमबहादुर सिंहले पनि हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार, नयाँ पार्टीको सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ र चुनाव चिन्ह पाँच कुने तारा तोकिएको छ । एकतापछि दलको नाम भने अझै टुंगो लागेको छैन ।
१८ बुँदे सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता भएको उल्लेख गरिएको छ ।
यसै सन्दर्भमा, आगामी १९ गते संयुक्तरूपमा पार्टी एकता घोषणा गर्ने तयारी गरिएको छ । साथै, सहमति पत्रमा ६ महिनाभित्र एकीकृत पार्टीको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने व्यवस्था पनि गरिएको छ ।






