Bahumat Khabar

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित, अनौपचारिक संवादमा कार्यवाहक सभापति खड्का

काठमाडाैं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक स्थगित गर्दै पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र अन्य नेताहरूसँग अनौपचारिक छलफललाई प्राथमिकता दिएका छन् । आइतबार दिउँसोका लागि तय गरिएको बैठक दुई दिन पछि आयोजना गर्ने निर्णय भएको छ ।

ललितपुरको धोविघाटमा खड्काले नेताहरूसँग विचारविमर्श गर्न थालेका छन् । यसैबीच, शेखर कोइरालानिकटका युवा विद्यार्थीहरूले सानेपा स्थित पार्टीको मुख्य गेटमा तालाबन्दी गरि महाधिवेशनको कार्यतालिका तत्काल ल्याउनुपर्ने माग गर्दै ताला नखोल्ने अडान जनाएका छन् ।

भदौमा भएको जेनजी आन्दोलनपछि कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तनको आवाज बलियो भएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्र महाधिवेशन गर्नुपर्छ भनेर जोड दिएका छन् भने सभापति शेरबहादुर देउवा पक्ष भने वैशाखमा महाधिवेशन गर्ने पक्षमा छन् ।

खड्काले भने, “हामी सबैसँग अनौपचारिक संवाद गरेर सहमति बनाउनुपर्दछ । मंसिरमा महाधिवेशन गर्नुपर्छ भन्ने पक्षलाई हामीले समर्थन गर्नुपर्छ,” भनेका छन् ।

हालको विवाद महाधिवेशनको समय र स्वरूपमा केन्द्रित छ । विशेष महाधिवेशनको माग गर्दै ५४  प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर बुझाइसकेका छन् । यसरी महाधिवेशनको विषयमा पार्टीभित्र गहिरो विभाजन देखिन्छ ।

कांग्रेसका नेताहरूले महाधिवेशनको तिथिमिति छिट्टै तोक्नुपर्नेमा जोड दिइरहेका छन् । यदि समयमै महाधिवेशन आयोजना गर्न सकिएन भने पार्टीको अवस्था जटिल बन्ने निश्चित देखिन्छ ।

यसैबीच, कार्यवाहक सभापति खड्काले अनौपचारिक छलफललाई तीव्रता दिनका लागि संवाद थालिसकेका छन् । “हामीले एकमत भएर अघि बढ्नुपर्छ,” उनले भनेका छन् ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.