Bahumat Khabar

नेकपा एकीकृत समाजवादीमा नयाँ समूहको उदय : रामकुमारी झाँक्री, किसान श्रेष्ठ र अमर थापा लगाएतको अलग मोर्चा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र फेरि एकपटक आन्तरिक विभाजन तीव्र बनेको छ । अध्यक्ष माधवकुमार नेपालको निर्णयप्रति असन्तुष्टि जनाउँदै रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अमरबहादुर थापा लगायत नेताहरूको नयाँ समूह बनाउने भएका छन् ।

यी नेताहरूले माधव नेपालको नेतृत्वसँगै पार्टी एकताको प्रक्रियामा पनि नजाने र झलनाथ खनाल–घनश्याम भुसाल समूहसँग पनि नजोडिने घोषणा गरेका छन् । यसअघि उनीहरू असन्तुष्ट समूहका रूपमा खनाल–भुसाल पक्षको भेलामा सहभागी भएका थिए।

पूर्वसांसद कृष्णकुमार श्रेष्ठका अनुसार, “हामी अहिले न माधव नेपाल पक्षमा रहनेछौँ, न खनाल–भुसाल पक्षमा । केही दिन हामी स्वतन्त्र रूपमा रहँदै नयाँ विकल्पको सम्भावना खोज्दैछौँ,” उनले भने । श्रेष्ठका अनुसार रामकुमारी झाँक्री, डा. वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, अर्जुन राई लगायतका करिब सय जना नेता–कार्यकर्ता छुट्टै समन्वयमा जुट्दै छन् ।

माधव नेपालले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने निर्णयलाई ‘एकल र अविवेकी कदम’ ठहर गर्दै उनीहरूले विरोध गरेका छन् । श्रेष्ठले भने, “हामी आफैं पनि एउटा राजनीतिक शक्ति हौँ । अरूले हामीलाई देखाएर राजनीति गर्ने अवसर किन दिनु ? त्यसैले यो निर्णय गरेका हौँ ।”

आगामी दिनमा एमालेमा फर्कने वा नयाँ राजनीतिक स्वरूपमा अघि बढ्ने विषयमा समेत छलफल भइरहेको उनले जनाए । “एमाले र त्यसको नेतृत्वले ठुलो पद नदिए पनि सम्मानका साथ बोल्यो भने फर्कन सकिन्छ,” श्रेष्ठले भने ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.