Bahumat Khabar

“भोजपुरे खुकुरी : नेपाली साहस, गौरव र पहिचानको धार”

भोजपुर । देश–विदेशमा नेपाली शौर्यको प्रतीकका रूपमा परिचित ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । परम्परागत सीप र आधुनिक प्रविधिको मिश्रणसहित बन्ने यो खुकुरीले भोजपुरको नाम मात्र होइन, सम्पूर्ण नेपाली पहिचानलाई संसारभर उज्यालो बनाइरहेको छ ।

भोजपुर खुकुरी उद्योगका लागि प्रसिद्ध जिल्ला हो । स्थानीय व्यवसायी हीरा श्रेष्ठका अनुसार यहाँ बन्ने खुकुरीको मूल्य रु ५०० देखि ५२ हजारसम्म पर्छ । “हामी मागका आधारमा साधारणदेखि विशेष डिजाइनका खुकुरी बनाउँछौं,” उनले बताए । उच्च मूल्यका खुकुरीका लागि विशेष गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिन्छ ।

श्रेष्ठका अनुसार भोजपुरे खुकुरीको माग नेपालभित्र मात्र होइन, अमेरिका, बेलायतलगायत देशहरूबाट पनि आउँछ । “विदेशीहरूले नेपाली खुकुरीलाई नेपाली वीरताको प्रतीकका रूपमा लिन्छन्,” उनले थपे ।

पहिले हातको सहायताले मात्र बनाइने खुकुरी अहिले आधुनिक उपकरणहरूको प्रयोगसहित अझ आकर्षक र मजबुत बनेको छ । फलाम तताउने, धार बनाउने, बिँड र दाप जोड्ने सबै प्रक्रिया अझै पनि स्थानीय कालीगढहरूको कुशल हातमै निर्भर छ ।

भोजपुर आउने आन्तरिक तथा बाह्य पर्यटकहरू भोजपुरे खुकुरीलाई स्मृतिको रूपमा घर लिएर जाने गरेका छन् । यसले स्थानीय पर्यटन र अर्थतन्त्रलाई समेत बल पुर्‍याएको छ ।

स्थानीयहरूका अनुसार, “खुकुरीले बजारको सामान्य माग त धानिरहेको छ, तर कहिलेकाहीँ ठूलो परिमाणको माग आउँदा त्यसलाई तत्काल पूरा गर्न चुनौती पर्न सक्छ ।”

परम्परा र नवीनताको संगम बनेको भोजपुरे खुकुरी आज पनि नेपाली गौरव, आत्म–सम्मान र साहसको प्रतीकका रूपमा झन् चम्किरहेको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.