Bahumat Khabar

महाकाली अस्पतालमा चरम अनियमितता : सात दिनभित्र सुधार नभए कडा आन्दोलनको चेतावनी

कञ्चनपुर । कञ्चनपुरमा अवस्थित महाकाली प्रादेशिक अस्पतालमा देखिएका विभिन्न अनियमितता, लापरवाही र सेवा–सुविधामा भइरहेको बेथितिविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कन्चनपुरले ध्यानाकर्षण पत्र बुझाउँदै सात दिनभित्र सुधार गर्न कडा चेतावनी दिएको छ ।

पार्टी जिल्ला समिति, कञ्चनपुरका तर्फबाट डम्बर विष्टले अस्पताल प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा अस्पताल प्रशासनले पछिल्ला दिनहरूमा जनगुनासालाई बेवास्ता गर्दै सेवा प्रवाहमा भेदभाव, लापरवाही र मनपरीपन गर्दै आएको आरोप लगाइएको छ । पार्टीले १२ बुँदे ध्यानाकर्षणपत्रमार्फत तत्काल सुधारको माग गर्दै सात दिनभित्र माग पूरा नभए कडा जनसंघर्षमा उत्रिने चेतावनी दिएको छ ।

ज्ञापनपत्रमा उठाइएका मुख्य १२ बुँदाहरू यसप्रकार छन् :

१. लामो समयदेखि बन्द रहेको अक्सिजन प्लान्ट तत्काल सञ्चालन गर्नुपर्ने ।
२. अस्पतालको मेडिकलमा आवश्यक औषधिहरू नपाउँदा सर्वसाधारणले सास्ती भोग्नु परेको ।
३. करार कर्मचारीहरूबीच सेवा–सुविधामा भेदभावपूर्ण व्यवहार र मनपरी पदोन्नति रोक्नुपर्ने ।
४. निड्स नेपाल र अस्पतालबीचको सम्झौता सकिएपछि पनि अवैध रूपमा कर्मचारी राखिएको ।
५. स्वास्थ्य बीमाअन्तर्गत वा न्यूनतम शुल्कमा उपलब्ध हुनुपर्ने ईको, ईन्डोस्कोपी, युएसजी सेवामा महँगो शुल्क असुलिएको ।
६. नयाँ सञ्चालनमा आएको सिटी स्क्यानमा समस्या देखिँदै बीमाको सुविधा नदिइएको ।
७. केही प्राविधिक कर्मचारीले राजनीतिक पहुँचका कारण पदको दुरुपयोग गर्दै आएको ।
८. प्रशासनका कर्मचारीले अनावश्यक ओभरटाइम र काज भत्ता लिने गरेको ।
९. ‘अन–कल’ कन्सल्टेन्ट डाक्टरहरू इमर्जेन्सीमा अनुपस्थित हुँदा बिरामी सेवा प्रभावित भएको ।
१०. चिकित्सकहरूले कार्यालय समयमा ढिलाइ र समयअगावै कार्यालय छोड्ने गरेको ।
११. केही कर्मचारीले ई–हाजिर प्रणालीको दुरुपयोग गरेको ।
१२. पूर्व जनप्रतिनिधिलाई कानूनी प्रक्रिया मिचेर नियुक्ति गरिएको ।

पार्टीद्वारा अस्पताल प्रशासनलाई जनताको गुनासो र मागप्रति संवेदनशील बन्न आग्रह गर्दै भनिएको छ — “यदि सात दिनभित्र अस्पतालले यी समस्याहरूको समाधान गर्न ठोस कदम चाल्दैन भने, हामी कडा जनसंघर्षमा उत्रन बाध्य हुनेछौं ।”

स्थानीयवासीहरूले पनि अस्पतालमा भइरहेको अनियमितता र सेवाको गुणस्तरप्रति असन्तोष जनाएका छन् । उनीहरूले अस्पताल प्रशासनले जनताको स्वास्थ्य अधिकारलाई सम्मान गर्नुपर्ने र जनहितमुखी सुधार गर्न ढिलाइ नगर्न आग्रह गरेका छन् ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.