Bahumat Khabar

मेलम्चीको पानी पुनः बन्द, स्थानीयको आन्दोलनपछि काठमाडौँमा आपूर्ति अवरुद्ध

काठमाडौं । आफ्ना मागहरू दीर्घकालसम्म बेवास्ता भएको भन्दै मेलम्ची बाढीपीडितलगायत स्थानीयवासीहरूले मेलम्ची खानेपानीको मुहान बन्द गरिदिएका छन् । यससँगै बिहीबार दिउँसोदेखि काठमाडौँमा मेलम्चीको पानी आपूर्ति पूर्ण रूपमा रोकिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार, स्थानीयवासीहरूले गत वर्ष तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै मुहान बन्द गरेका हुन् ।
उनले भने, “सम्झौताअनुसारका प्रतिवद्धता पूरा नभएपछि आज स्थानीयले मुहान बन्द गरेका छन् । अहिले काठमाडौँमा मेलम्चीको पानी आपूर्ति पूर्ण रूपमा रोकिएको छ।”

विसं २०७८ सालको विनाशकारी बाढीपहिरोका कारण घरबारविहीन बनेका मेलम्ची र आसपास क्षेत्रका पीडितहरूले राहत, पुनःस्थापना तथा मुआवजा नपाएको गुनासो गर्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । तर, सरकार र सम्बन्धित निकायले ठोस कदम नचालेपछि अन्ततः उनीहरूले मुहान बन्द गर्ने निर्णय गरेका हुन् ।

यसअघि वर्षा सुरु भएपछि असारमा मेलम्चीको पानी आपूर्ति रोकिएको थियो भने असोज २६ गतेदेखि पुनः आपूर्ति सुरु गरिएको थियो । तर, फेरि आन्दोलनका कारण मेलम्चीको पानी पुनः रोकिँदा काठमाडौँवासी पुनः खानेपानी संकटमा पर्ने सम्भावना बढेको छ ।

कार्यकारी निर्देशक दासका अनुसार, आन्दोलनरत समितिहरूसँग संवाद र सहमतिको माध्यमबाट समाधान खोज्ने प्रयास भइरहेको छ । “हामीले स्थानीयहरूसँग छलफलमार्फत निकास निकाल्ने तयारी गरेका छौँ,” उनले भने ।

सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक साताअघि नै काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी गरेर सरकारको ध्यानाकर्षण गराएका थिए । तर, मागहरू अझै पूरा नभएपछि उनीहरूले निर्णायक कदमस्वरूप मुहान नै बन्द गरेका हुन् ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.