१० असोज, विराटनगर,
२४ भदौको जेनजी आन्दोलन क्रममा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको मोरङ जिल्ला प्रशासन कार्यालय हाल सटरमा सञ्चालन भइरहेको छ । कार्यालय प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादव स्वयं सटरभित्र कार्यकक्ष बनाएर बसेका छन् ।
उनका अनुसार भवन मर्मत र कार्यालय सञ्चालनका सामग्री जुटाउन राज्यकोषको बजेट प्रयोग गरिएको छैन । विभिन्न संघसंस्थाको सहयोगमा आवश्यक संरचना र उपकरण व्यवस्थापन भइरहेको छ ।
‘कार्यालयमा केही पनि बाँकी छैन, सबै लुटपाट र आगजनी भयो,’ सीडीओ यादवले बताए, ‘लुटिएकोमध्ये एउटा प्रिन्टर मात्रै फिर्ता आएको छ ।’
सहयोगी संघसंस्थाको योगदान
नेपाल उद्योग वाणिज्य संघ, कोशी प्रदेश — १० वटा कम्प्युटर
जीवन विकास लघुवित्त वित्तीय संस्था — ३ वटा कलर प्रिन्टर
निर्माण व्यवसायी संघ — भवन मर्मत र राष्ट्रिय परिचयपत्र वितरणका लागि छुट्टै टहरा निर्माण
इँटा व्यवसायी संघ — २१ वटा टेबल–कुर्सी
सुनौलो पूर्व नेपाल यातायात व्यवसायी संघ — पंखा
मदिरा व्यवसायी संघ — कुर्सी
एसियन पेन्ट्स — रंग, खर्च उद्योग वाणिज्य महासंघले बेहोर्ने
कम्युटर एसोसिएसन — नेटवर्किङ कार्य
अहिलेसम्म १२ थान कम्प्युटर, ५ थान प्रिन्टर र आवश्यक टेबल–कुर्सी उपलब्ध भइसकेको छ । अन्य संघसंस्था र संगठनहरूले पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
२४ भदौको घटनामा २०४८ सालदेखिका महत्वपूर्ण अभिलेख नष्ट भएको छ । भवन संरचना मात्र करिब ४ करोड रुपैयाँ बराबर क्षतिग्रस्त भएको अनुमान गरिएको छ । कार्यालय सामग्रीमा भएको क्षतिको विवरण संकलन कार्य जारी छ ।





