Bahumat Khabar

क्रान्तिकारी एकता अपरिहार्यः ‘जेन्जी विद्रोहले देशलाई नयाँ दिशामा लैजान अवसर दिएको छ’

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्यूरोद्वारा आयोजित ‘वर्तमान राजनीतिक अवस्था र आमूल परिवर्तनको आवश्यकता’ विषयक अन्तरक्रियामा वक्ताहरूले जेन्जी विद्रोहपछि विकसित असाधारण राजनीतिक परिस्थितिमा छरिएर रहेका सबै क्रान्तिकारी शक्तिहरू एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

राजधानीको संवाद डबलीमा शुक्रबार सम्पन्न कार्यक्रममा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले जेन्जी विद्रोहले जनतामा ठूलो आशा र अपेक्षा जगाए पनि नीति, विचार र राजनीतिक नेतृत्वको अभावले पुरानै व्यवस्था र भ्रष्ट वर्ग पुनः सशक्त बनेको बताउनुभयो । “जेन्जीको बलबाट बनेको सरकारले उल्टै परिवर्तनकारी जेन्जीहरूलाई पक्रन थालेको घटना गम्भीर हो,” उहाँले भन्नुभयो, “यो विद्रोहले भ्रष्ट र दलाल सत्ताको अन्त्य खोजेको थियो । त्यसैले अब जेन्जीहरूले राष्ट्रिय स्वाधीन संयुक्त सरकारको माग गर्नुपर्छ ।”

त्यस्तै, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल ‘गौरव’ ले क्रान्तिकारी शक्तिहरू एक हुन नसके देश ‘युक्रेन बन्ने खतरा’ तर्फ धकेलिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान संसदीय व्यवस्था पतनको दिशातिर गइरहेको छ । यसको विकल्प निर्माणका लागि सबै क्रान्तिकारी कम्युनिस्टबीच एकता वा कम्तीमा मोर्चाबन्दी अपरिहार्य छ ।” प्रधानमन्त्री सुशिला कार्कीले वार्ताको लागि परिवर्तनकारीहरूलाई आमन्त्रण नगरेकोप्रति आक्रोश व्यक्त गर्दै गौरवले थपे, “यो सरकारले पनि पुरानै दलदलको निरन्तरता दिएको पुष्टि भएको छ । अब देशको निकासका लागि स्वाधीन संयुक्त सरकार नै एकमात्र विकल्प हो ।”

नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले जेन्जी विद्रोहपछि देशमा व्यापक ध्रुवीकरण र सबै क्रान्तिकारी शक्तिहरूबीच एकता आवश्यक रहेको बताउनुभयो । उहाँले हालको सरकारले भ्रष्ट र दलाललाई जेल हाल्नुको सट्टा परिवर्तनकारीहरूलाई लक्षित गरिरहेको भन्दै चेतावनी दिनुभयो, “यदि यस्तो शासन चलिरह्यो भने भ्रष्टहरूले लुटेर बनाएका घर जलाउने अवस्था आउनेछ ।”

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल की प्रवक्ता राजेश्वरी सुवेदीले विभाजन र आत्मकेन्द्रित प्रवृत्तिका कारण प्रतिक्रियावादी शक्तिहरू बलियो बनेको उल्लेख गर्दै सबै क्रान्तिकारी पार्टीहरूबीच वैचारिक र राजनीतिक एकता आवश्यक रहेको बताइन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्यूरोका इन्चार्ज दिनेश शर्मा (सागर) ले जेन्जी विद्रोहमा वर्गीय चेत र स्पष्ट राजनीतिक दिशा नहुँदा त्यसको उपलब्धि न्यून रहेको टिप्पणी गर्दै अबको आन्दोलन वैज्ञानिक समाजवादको स्थापनाका लागि केन्द्रित हुने स्पष्ट पार्नुभयो । त्यस्तै ब्यूरो सचिव चिन्तामणि पौडेलले दलाल पूँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न संघर्ष अपरिहार्य भएको बताउनुभयो ।

नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले नेतृत्व उमेर हदको बहस अस्वाभाविक भएको भन्दै “मोहनविक्रम सिंह, मोहन वैद्य र गौरवजस्ता अनुभवी नेताहरू अहिले पनि देशका लागि आवश्यक छन्” भन्नुभयो ।

कार्यक्रममा संस्कृतिक प्रतिरोध अभियानकी सदस्य संगीत स्रोत, वैज्ञानिक समाजवादी कम्युनिस्ट नेपालकी प्रवक्ता राजेश्वरी देवकोटा, र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं जिल्ला सचिव केदार खतिवडाले पनि क्रान्तिकारी एकता र जनविद्रोहको तयारीमा जुट्नुपर्नेमा जोड दिनुभयो ।

१०९ औं महान अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा आयोजित उक्त अन्तरक्रिया ब्यूरो इन्चार्ज दिनेश शर्मा (सागर) को अध्यक्षता र सेक्रेटरी चिन्तामणि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.