काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई राजनीतिक दलमा आबद्ध हुन नपाइने चेतावनी दिएका छन् ।
मन्त्रालयको आधिकारिक इमेल, टेलिफोन, व्हाट्सएप र सामाजिक सञ्जालहरूमा अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज तथा शिक्षाविद्हरूबाट प्राप्त गुनासोका आधारमा मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै यस्तो चेतावनी दिएको हो ।
मन्त्रालयले जनाएका अनुसार पेशागत हकहितका लागि स्थापित नेपाल शिक्षक महासंघ, त्यससँग आवद्ध संगठनहरू तथा विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघहरू पेशागत कर्तव्य, नैतिक दायित्व र आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको गुनासो आएको छ । यसले शिक्षाको गुणस्तरमा नकारात्मक असर पारिरहेको मन्त्रालयको निष्कर्ष छ ।
मन्त्री पुनले सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीका लागि बनेका पेशागत ऐनहरूले कर्तव्य र आचरणका स्पष्ट मापदण्ड तय गरेको उल्लेख गर्दै भनेका छन्, “कुनै पनि पेशागत ऐनले शिक्षक, प्राध्यापक वा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन । यस्तो कार्यमा संलग्न भएको प्रमाणित भए पदबाट बर्खास्तसम्मको कानूनी कारबाही हुनेछ ।”
उनले विभिन्न राजनीतिक दलका भातृसङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा रहेका शिक्षक, प्राध्यापक र कर्मचारीका संघ–संगठनहरूलाई मन्त्रालयले अब मान्यता नदिने निर्णय गरेको पनि जानकारी दिएका छन् ।
मन्त्री पुनले शिक्षक र कर्मचारीका पेशागत हकहित तथा संविधान प्रदत्त अधिकारको सम्मान गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै भनेका छन्, “हाम्रो उद्देश्य शिक्षक महासंघ, प्राध्यापक संघलगायतका संस्थाहरूलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक बनाउने हो । त्यसका लागि कानूनी प्रबन्धसहित पुनर्गठन गर्न आवश्यक छ ।”
उनले अन्त्यमा चेतावनी दिएका छन्, “शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय तथा विश्वविद्यालय शान्तिक्षेत्रको मर्म विपरीत कुनै गतिविधि भए प्रचलित कानुनअनुसार मन्त्रालयले कडा कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैन ।”





