सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पोलिट्ब्युरो सदस्य कमरेड यमराज खड्काकी आमा मैसरा खड्काको निधनप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका महासचिव कञ्चनद्वारा जारी शोक वक्तव्यमा पार्टीले ९७ वर्षको उमेरमा सुर्खेत जिल्ला, चिङ्गाड गाउँपालिका–२ स्थित निवासमा हिजो (कार्तिक २३ गते) भएको निधनले सम्पूर्ण क्रान्तिकारी परिवार शोकाकुल बनेको जनाएको छ ।
महान जनयुद्धको कठिन समयदेखि नै आमा मैसरा खड्काले देशको सामाजिक रूपान्तरण र जनमुक्तिका लागि दृढ साथ दिँदै महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै पार्टीले लेखेको छ— “१० वर्षको महान जनयुद्धको समयमा उहाँले निर्वाहा गरेको महत्वपूर्ण योगदानलाई नेपालको क्रान्तिकारी आन्दोलनले सदैव स्मरण गरिरहनेछ ।”
कार्तिक ११ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा दम रोगको उपचाररत रहँदै आउनुभएकी आमा खड्काको निधनले पार्टीभित्र ठूलो क्षति भएको पार्टीको वक्तव्यमा जनाइएको छ ।
यस दुःखद घडीमा पार्टीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार—विशेषतः पोलिट्ब्युरो सदस्य कमरेड यमराज खड्कालगायत सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।






