विराटनगर । भारतको बिहार राज्यमा आज विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान जारी छ । पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा क्षेत्रहरूमा बिहानैदेखि मतदाताहरू उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन् ।
यस चरणमा एक हजार ३०२ उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचनका लागि ४५ हजार ३९९ मतदान केन्द्र तोकिएका छन् भने तीन करोड ७० लाखभन्दा बढी मतदाताले आफ्नो मतदान अधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ । तीमध्ये एक करोड ७४ लाख महिला मतदाता रहेका छन् ।
पहिलो चरणको मतदान नोभेम्बर ६ मा सम्पन्न भएको थियो, जसमा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा ६५.०८ प्रतिशत मत खसेको थियो । दोस्रो चरणको मतदानपछि बिहारको नयाँ सरकार गठन हुने भएकाले यो चरण निर्णायक मानिएको छ ।
नेपालसँग सिमाना जोडिएका मोरङ र सुनसरीका नाकाहरू सुरक्षा कारण शनिबार बेलुकादेखि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । मतदान सम्पन्न भएपछि सीमा पुनः खुला गरिने तयारी छ ।
विश्लेषकहरूका अनुसार यो निर्वाचनले बिहारको राजनीतिक दिशा मात्र होइन, भारतको संघीय राजनीतिमा समेत महत्वपूर्ण सन्देश दिनेछ । मतदान शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा जारी रहेको जनाइएको छ ।





